रुपन्देही । अदालतमा मुद्दा परेपछि तिलोेत्तमा नगरपालिकाको मंगलापुर–कान्छीबजार सडक खण्ड स्तरोन्नती गर्ने कामले गति लिन पाएको छैन ।
तिलोत्तमाले यो नमुना सडक खण्ड बिस्तार तथा स्तरोन्नतीको काम अघि बढाएपनि घरधनीहरु भने सडक विस्तारमा राजी नहुँदा अदालतमा मुद्दा समेत परेको हो । सडक स्तरोन्नतीका लागि स्थानीयका संरचना हटाउने क्रममा वडा नं ७ का तीन घरधनीले जिल्ला अदालतमा मुद्दा दिएका हुन् ।
जनताको आग्रहलाई बेवास्ता गरि नगरपालिकाले एकतर्फी रुपमा सडक निर्माण कार्य अगाडि बढाएको भन्दै घरधनीले मुद्दा दायर गरेका हुन् । शुरुमा चार घरधनीले मुद्दा दायर गरे पनि एक जनाले फिर्ता लिएको नगरपालिकाका योजना प्रमुख बरिष्ठ इन्जिनियर प्रदीप वनले जानकारी दिनुभयो । मुद्दा दायर भएपछि फेरि एकपटक नापजाँच गर्न अदालतले आदेश दिएको छ । तर वर्षतका कारण नापजाँचको काम अझै भएको छैन ।
मंगलापुरदेखि रोहिणीखोलासम्म कसैको विरोध नभएपनि वडा नं ७ मा भने केही घरधनीले विरोध गरेपछि निर्माणको काम प्रभावित भएको वडा नं १० का अध्यक्ष तथा गुनासो सुनुवाइ समितिका संयोजक गोपालप्रसाद घिमिरेले बताउनुभयो । “केही स्थानीयले नहर नै सारेर सडक विस्तार गर्न भनेका छन् तर अरु घरधनीको जग्गा भत्काइसकेका कारण तीन घरका लागि मात्रै यो सम्भव छैन”, गुनासो सुनुवाइ समितिको संयोजक घिमिरे भन्नुहुन्छ ।
सडक मिचेर घर बनाएका कारण यो सडकखण्डमा पर्ने अधिकांश घरधनीले आफै घर भत्काएकाले अन्य ठाउँमा भने कुनै गुनासो नआएको उहाँको भनाइ छ ।
विश्व बैंकको सहयोगमा निर्माण सुरु गरिएको यो सडक ४३ फुटको बन्ने छ । ६ दशमलव ६ किलोमिटरको यो सडक अन्तर्गत पहिलो चरणमा ५ किलोमिटरका लागि टेण्डर आव्हान गरिएको थियो ।
दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी शर्मा सगुन जेभी प्रालिलाई सडक निर्माणको जिम्मेवारी दिइएको नगरपालिकाका योजना प्रमुख बरिष्ठ इन्जिनियर वनले बताउनुभयो । गत वर्षदेखि सुरु भएको निर्माणको काम आगामी आर्थिक वर्षभित्रै पूरा हुने छ ।
यो परियोजना अनुसार विश्व बैंकले रु ७९ करोड ५० लाख खर्च गर्ने छ । जसअन्तर्गत पहिलो चरणमा ५६ करोड बजेट स्टिमेट गरिएको बरिष्ठ इन्जिनियर वनले जानकारी दिनुभयो ।
मंगलापुर–कान्छीबजार सडक विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयूजीूआईपी) मार्फत् निर्माण हुन थालेको हो ।
फुटपाथको व्यवस्था, ढल निकास, पानी, विद्युत सहित फराकिलो सडक निर्माणको काम धमाधम भइरहेको छ । स्थानय स्रोत साधनले नभ्याउने भएपछि लामो समयसम्म यो सडक निर्माण हुन सकेको थिएन ।
विश्व बैंकको सहयोगमा अहिले सडक स्तरोन्नतीको काम तीव्र गतिमा भइरहेको छ भन्नुहुन्छ, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण । यो सडक रोहिणी नदी, देवदह तथा औद्योगिक ग्रामसँग जोडिएकाले अन्य पालिकासँग पहुँच विस्तार हुने उहाँको भनाइ छ ।
“यो क्षेत्र तिलोत्तमाको मुटु हो । सडक स्तरोन्नतीपछि यहाँको स्वरुप फेरिने छ, कृषि उत्पादनलाई बजारीकरणमा समेत सहयोग पुग्ने छ त्यसैले यस क्षेत्रकै लागि यो सडक नमूना हुनेछ”, उहाँले भन्नुभयो । यो सडकको सबै काम २०२५ सम्म सम्पन्न गर्ने गरी विश्व बैंकसँग सम्झौता भएको उहाँले बताउनुभयो । तिलोत्तमा नगरमा झण्डै सात हजार सडक छन् । अधिकांश सडकहरु स्थानीय स्रोत साधनबाटै कालोपत्रे गर्ने काम भइरहेको छ ।
फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो नमुना सडक खण्ड अन्तर्गत पहिलो चरणमा ५ किलोमिटर निर्माणका लागि टेण्डरमार्फत काम अघि बढाइएको हो । बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम दोस्रो चरणमा अघि बढ्ने नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो ।