कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइया बस्ने १८ वर्षिय बैजनाथ भुजको मृत्यु भएको हो । भुजलाई बुधबार राति १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले डसेको थियो ।
सर्पले डसेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो ।
मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो। गोरुसिङ्गेबाट बुटवल रिफर गरेपछि बाटोमै मृत्यु भएको जनाइएको छ ।
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।
त्यस्तै साउन र भदौमा छ–छ बालबालिकालाई सर्पले टोकेको थियो । सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो । जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।