काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपुकलपति बन्न ४३ जनाले दरखास्त दिएका छन् । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो । उपकुलपतिका लागि आवेदन दिने म्याद १५ दिनको थियो ।
यो अवधिमा ४१ पुरुष र २ जना महिलासहित ४३ जनाको आवेदन परेको शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । दरखास्त दिनेमा बहालवाल उपकुलपति, पूर्वउपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व पदाधिकारी र प्राध्यापकसम्म रहेका छन् । एक कार्यकाल विश्वविद्यालय सेवामा पदाधिकारीको जिम्मेवारी पूरा गरेको संख्या धेरै छ ।
दरखास्त दिने मध्येमा अधिकांश सत्तारुढ कांग्रेस र माओवादीनिकटका प्राध्यापक छन् । एमालेनिकट केहीले पनि आवेदन दिएका छन् । बौद्धिक चोरीका आरोपीदेखि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले दोषी देखाएका प्राध्यापकको पनि उजुरी परेको छ । केही आवेदक निजी कलेजका सञ्चालक रहेको समेत पाइएको छ ।
उपलकुलपति बन्ने इच्छा व्यक्त गर्दै आवेदन दिनेहरुमा त्रिविका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.केशरजंग बराल छन् ।
यसैगरी त्रिविको मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन कुसुम शाक्य, त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविका पूर्व रेक्टर गुणनिधि न्यौपाने, खुला विश्वविद्यालयका पूर्व कार्यवाहक उपकुलपति प्रा.डा. इन्द्र कार्की, त्रिविको इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेलले पनि निवेदन दिएका छन् ।
यसैगरी प्रा.डा. टंकनाथ धमला, प्रा।डा। आनन्दबल्लभ जोशी, प्रा.डा. अक्कलजेभ मिश्र, प्रा.डा. ऋदिश कुमार पोखरेल, प्रा।डा। ज्ञानेन्द्र प्रसाद पौडेल, प्रा.डा.महेन्द्र चालिसे, प्रा.डा. भोजराज अर्याल, प्रा.डा. नारायण प्रसाद बेल्बासे, प्रा।डा। हेमराज शर्मा, प्रा.डा. वेदनाथ शर्मा, प्रा।डा। प्रकाश घिमिरे (काठमाडौं), प्रा.डा. प्रकाश घिमिरे (गोरखा)ले पनि आवदेन दिएका छन् ।
प्रा.डा.केदारनाथ घिमिरे, प्रा.डा.महेन्द्रप्रसाद शर्मा, प्रा।डा। विनोद पराजुली, प्रा.डा. देवबहादुर खड्का, प्रा।डा। कृष्णराज तिवारी, प्रा.डा.गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, प्रा।डा। रामप्रसाद रेग्मी, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा.डा. एकराज ओझा र प्रा.डा. प्रमोद कुमार झाको पनि आवेदन परेको छ ।
यसैगरी डा. रामचन्द्र बस्नेत, डा. विनय कुमार झा, डा. नारायण शुभ पाठक, नारायणप्रसाद पाठक, संगीता रायमाझी, सन्जय आचार्य, सूर्यबहादुर थापा, भिमसेन देवकोटा र बालमुकुन्द रेग्मीले पनि त्रिविको उपकुलपतिका लागि आवेदन दिएका छन् ।
उपकुलपति छनोट, सिफारिस समितिले जारी गरेको कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको, त्रिविमा स्वार्थको द्वन्द्व रहेको स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएको छ । आवेदनमाथि विज्ञ समूहबाट मूल्याङकन गरी ‘सर्ट लिस्ट’ तयार पार्ने समितिले जनाएको छ ।