बुटवल । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बि.क र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए । नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । नेपालीका श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए ।
आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिनुभयो । श्रीमती सहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए । ‘मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो,’ डिएसपी मल्लले भन्नुभयो, ‘पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टिका र छोरा शुशान्तको शब होटेलको कोठामा फेला पर्यो ।’
उहाँकाअनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ । डिएसपी मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताउनुभयो ।
प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनिसँग घटनाबारे अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।