बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक र चौराहमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ ।
६५ औँ स्थापना दिवसको अवसर पारेर बुधबार नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्याश तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गर्नुभयो । हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताउनुभयो ।
उहाँले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताउनुभयो । उहाँले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगरप्रमुख पाण्डेयले छिट्टै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने बताउनुभयो ।
उहाँले नगरले ६५ औँ स्थापना दिवस विविध सिर्जनात्मक कार्यक्रम गरी मनाइरहेको बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरभित्रका विद्यालयबीचमा फुटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्यसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
यस्तै उहाँले नगरभित्रका ज्येष्ठ नागरिक र अपांगता भएका र फरक क्षमता भएकाहरुको घरदैलोमै उपचार सेवा पु¥याउन बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
यस्ता धेरै कार्यक्रमले बुटवललाई समुन्नत सहरका रुपमा स्थापित गर्ने बताउँदै उहाँले उज्यालो बुटवल कार्यक्रमले सहरलाई उज्यालो बनाउने र रात्रीकालीन बजार सञ्चालनका लागिसमेत सघाउ पु¥याउने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन् ।
यस्तै वीपी चोक, जेसीज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवसिद्ध चोक, वधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन् । यस्तैगरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ ।