बुटवल । बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैले गितेन्द्रबाबु राई नेतृत्वको सहकारी सुप्रिम मार्फत १० हजार ३ सय ९१ जना बचतकर्ताहरूको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिस्टर कार्यालयको प्रतिवेदन र बचतकर्ताहरूको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरीएको बताउनुभयो।
‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,’ उहाँले भाँुभयो, ‘संकलन रकमको विवरण, ऋण लगानीको अवस्था र रकम अप्रचलनको अवस्थाको अध्ययन हुँदैछ ।’ दुवै जनालाई शुक्रबार नै अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको पनि उपरीक्षक पण्डितले बताउनुभयो। संस्थाका पूर्व अध्यक्ष एवं अहिलेका संरक्षक जिबी राई भने फरार छन् ।
सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न ५ कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रकम उपलब्ध गराएको देखिएको छ । उक्त रकम कागजी प्रक्रिया पूरा नगरी ऋणको रुपमा उपलब्ध गराएको बचतकर्ताको आशंका छ ।
सुप्रिम सहकारीबाट विभिन्न मितिमा राई अध्यक्ष र रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०, जिबी ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न ७ वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २०, स्प्रिङ उड रियल स्टेड हाउजिङ प्रालिमा ३ वटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम लगेको देखिएको छ ।
त्यस्तै राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न ३ वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ र गितेन्द्रबाबु राईको नाममा ३ वटा मितिमा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम लगेको लुम्बिनी प्रदेश सहकारी रजिष्टारको प्रतिबेदनमा देखिएको छ । विभिन्न ५ वटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनु पर्ने देखिन्छ । सावाँ र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रुपैयाँ लिएर राई झन्डै एक वर्षदेखि सम्पर्कविहीन छन् । त्यस्तै बुटवलका व्यवस्थापक सागर केसी पनि पछिल्लो ६ महिनापछि सम्पर्कविहीन भएका छन् । प्रहरीले राई, केसीसहित सञ्चालकमा रहेका अन्य ७ जनालाई पनि खोजिरहेको छ ।
सहकारीका सञ्चालक र अन्य ऋणीहरूले विभिन्न समयमा लिएको ५२ जना ऋणीहरूलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७ सय २५ रुपैयाँ रकम पनि सहकारीले ऋणीबाट असुल गर्न सकेको छैन । पक्राउ परेका अध्यक्ष गुरुङले सहकारीका व्यवस्थापक सागर केसी सम्पर्कविहीन भएपछि सहकारीको कागजपत्र र सफ्टवेयर पनि नियन्त्रणमा लिएकाले ऋण असुलीको रकम संकलन गर्न नसकिएको बताउने गरेका थिए । प्रहरी सोधपुछको क्रममा आफू पनि सहकारीको पूर्व अध्यक्ष राई, व्यवस्थापक केसीलगायतको समूहबाट ठगिएको बयान दिएको प्रहरी स्रोतको दाबी छ । सहकारीले बुटवल र भैरहवा आसपासका ऋणीहरूबाट मात्रै पनि ३ करोड ९८ लाख १९ हजार ७ सय ७५ रुपैयाँ ब्याज मात्र असुल गर्नुपर्ने प्रतिवेदनमा देखिएको छ ।