भैरहवा, फागुन ६ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
सरकारी सेवामा आर्कषण घट्दो अवस्थामा रहेको हुदाँ नगरका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको हो ।
कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १ गते देखि चैत ३० गतेसम्म कक्षा संचालन हुनेछ ।
नासु पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको उहाँले बताउनुभयो ।
दुई महिनासम्म संचालन हुने तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षक मार्फत कक्षा सञ्चालन गरिएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो ।
शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरवासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताउनुभयो
सिद्धार्थनगर नगरपालिकाले जनमुखीहरु कार्यहरु गर्दै आएको छ । ‘भौतिक पूर्वाधारको विकाससँगसँगै मानव संशाधनको विकास पनि अपिहार्य छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भन्नुभयो, ‘गत वर्ष संचालन गरिएको तयारी कक्षाका लागि नगरवासीको आर्कषण देखिएपछि यस वर्ष पनि कक्षा संचालन गरेका हौँ ।’
गत वर्षपनि निःशुल्क लोकसेवा तयारी कक्षाका लागि मागभन्दा बढी आवेदन परेपछि चालु आ.वमा विगतको वर्षको मागलाई मध्यनजर गर्दै चाल् आ.वमा खरीदार पदको लागि पनि निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।