काठमाडौं, फागुन ७ । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बैंकको ब्याजदर थप घटाइनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभामा टेबल भएको बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद घिमिरेले व्यवसायीले महशुस गर्नेगरी बैंकको ब्याजदर घटाइनुपर्नेमा जोड दिनुभएको हो ।
७÷८ प्रतिशत ब्याजदरमा ऋण लिएर काम थालेका व्यवसायीले १४÷१५ प्रतिशतसम्म ब्याजदर तिर्नुपरेको उल्लेख गर्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले जबसम्म बैंकको ब्याजदर व्यवासायीलाई महशुस दिलाउने गरी घट्दैन, तबसम्म बैंकिङ्ग कसुरका घटनाहरु न्यूनीकरण नहुने स्पष्ट पार्नुभयो । बैङ्क तथा वित्तिय संस्थाले ऋणीको सहमतिबिना ब्याजदर बढाउने गलत अभ्यासको अन्त्य गर्नुपर्नेमा उहाँको जोड छ ।
खातामा रकम छ भनेर अर्को व्यक्तिलाई चेक दिई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित र दण्डित गर्नुको विकल्प नरहेको चर्चा गर्दै उहाँले बैंकिङ्ग कसुरका घटनालाई निरुत्साहित गर्न नसक्ने हो भने बैंकिङ्ग सेवाप्रतिको विश्वसनितामा कमी आउने स्पष्ट पार्नुभयो ।
“यसर्थ सरकारले बैंकिङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारवाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाइ सो उपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा व्यवस्था गर्न ल्याएको यो विधेयक समय सान्दर्भिक छ ।” उहाँले भन्नुभयो ।
एक जनाको ठगी नियतले अर्को व्यक्ति पनि परिस्थितिवश चेक अनादारको मारमा पर्ने गरेको बताउँदै सांसद घिमिरेले विधेयकमा चेक बाउन्सका मुद्दामा जुनसुकैं अवस्थामा पनि मिलापत्र हुने व्यवस्था गरिनु सकारात्मक रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय चेक बाउन्सका घटना बढेको चर्चा गर्दै उहाँले आर्थिक मन्दीको असरले पनि बैंकिङ्ग कसुरका घटनाहरु बढ्दै गएको बताउनुभयो । आर्थिक मन्दीबाट मुलुकलाई कसरी पार लगाउने भन्ने विषयमा सरकारले समयमैं सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।