बुटवल, फागुन ११ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शुक्रबारदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवलमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो । सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेको बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो ।
त्यसपछि वि.सं. २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो । हाल रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामीण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
हालसम्म ५ वटा विकास बैंकलाई मिलेर बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार गरेको थियो । वार्षिकोत्सवको अवसरमा शुक्रबार मणिग्राममा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गरेको र आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि हरेक वर्ष ५० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार दिने गरिएको बताए । पौडेलले ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।
बैंकमा कुनै जोखिम आउन नदिन राष्ट्र बैंकका नीति निर्देशनहरु तथा प्रचलित कानूनको पूर्ण पालना र संस्थागत सुशासनमा शुन्य सहनशिलता, प्रभावकारी आन्तरिक नियन्त्रण अपनाएको अध्यक्ष पौडेलले बताए । कोभिड महामारीपछि विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असर नेपालको बैकिङ क्षेत्रमा पनि परेको उल्लेख गर्दै अध्यक्ष पौडेलले अर्थतन्त्र लयमा फर्काउन बैंकिङ क्षेत्र सबल र सुदृढ हुनुपर्नेमा सरोकारवाला सबैको सकारात्मक साथ चाहिने बताए ।
बैकिङ क्षेत्र कमजोर भयो भने मुलुकको अर्थतन्त्र पनि कमजोर हुनेतर्फ सबै सजग भई सकारात्मक सोंचले अघि बढ्न अध्यक्ष पौडेलले आग्रह गरेका छन् ।
बैंकले चौधौं बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा आफ्ना शाखा कार्यालय रहेका क्षेत्रमा रोपेको, ग्रामीण क्षेत्रका विद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्राम अन्तर्गत सरकारी विद्यालयहरुमा डिजिटल उपकरणहरु प्रदान गरिएकोे अध्यक्ष पौडेलले बताए । यस्तै युवा तथा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यले रुपन्देही, नवलपरासी र कपिलवस्तुका विभिन्न क्याम्पसमा अध्ययनरत २२५ भन्दा बढी विद्यार्थीहरुलाई उद्यमशिलता विकास तालिम प्रदान र आम सर्वसाधारणलाई डिजिटल साक्षरता र बैंकिङ साक्षरता सम्वन्धी कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गरिएको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको आर्थिक राजधानी भएकाले यो क्षेत्रका समस्या र समाधानका उपायबारे पत्रकारले खोजमूलक पत्रकारितालाई प्राथमिकता दिन सुझाए । उनले रुपन्देहीका पत्रकारहरु निजी क्षेत्रका जायज मागको पक्षमा सधैं सकारात्मक रहेको बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले पांच वटा विकास बैंकहरु मर्ज भएर शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए । ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा रहेका र बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको पनेरुले बताए । सो अवसरमा पुरस्कृत पत्रकारहरु गौतम र कार्की तथा बैंकका ब्राण्डिङ हेड प्रभास राईले समेत आफ्ना भनाई राखेका थिए ।