बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ ।
रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
प्रहरी निरीक्षक विकले भन्नुभयो, ‘घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौँ अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।’