बुटवल । बुटवल उपमहानगरपालिका कार्यालय अहिले छाडा चौपाया व्यवस्थापन अभियानमा जुटेको छ । सडकमा छाडा गाई र गोरु धेरै देखिन थालेपछि यसको व्यवस्थापनका लागि उपमहानगरले अभियान चलाएको हो ।
बुटवल उपमहानगर—७ स्थित शिवनगर सामुदायिक बनमा रहेको गौशालामा सडकमा रहेका गाईगोरुको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले गत सातादेखि अभियान सुरु गरेको हो । गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको छ ।
उपमहानगरको अभिायनलाई स्थानीय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि र कर्मचारीले सघाएका छन् । हरेक शनिबार बिहान ५ बजेदेखि चौराहा, मिलनचोक, योगिकुटी, कालिकानगर, देवीनगर लगायतका विभिन्न चोक तथा सडकमा रहेका छाडा चौपायालाई गौशालामा लगिने गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल बताउनुहुन्छ । ‘छाडा चौपाया व्यवस्थापन बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्न आवश्यक भएकाले अभियानकै रुपमा अघि बढाएका हौं’, उहाँ भन्नुुहुन्छ ।
छाडा चौपाया किसानबाटै सृजित समस्या हो । किसानले खेतीपाती गर्नका लागि प्रयोग गर्दै आएका गोरु कृषिको आधुनिक यन्त्र उपकरण भित्राएसँगै बेवारिसे छोड्ने क्रम बढेको छ । कृषिमा यान्त्रिक उपकरणको प्रयोग गर्नतर्फ आकर्षित हुँदै गएका उनीहरु घरमा रहेका गोरुलाई छाडा छोड्ने गरेका छन् । यसैगरी, दूध दिँदासम्म घरमा राख्ने र दूध दिन छोडेपछि घरको गाईलाई सडकमा ल्याएर छाड्ने प्रवृत्ति छ ।
कृषिफममा आधुनिक दूध दिने उन्नत खालका गाईहरु त पाल्छन् । तर पुराना काठे गाईहरुबाट लागत बढी र दूध उत्पादन कम हुने भएको हुनाले कृषकहरुले सडकमा वेवारिस् छोडिदिन्छन् । रासायनिक मलको प्रयोगले पनि गाईको उपयोगिता घटाएको छ ।
‘अहिले सहर र सडक किनारामा जनघनत्व बढी भएकोले खाना पाउने कारण हजारौँ गाईहरु सहरतिर ओइरिएका छन्’ लेखक ऋषि आजादले भन्नुभयो ‘यसमा हिन्दुत्वले पनि काम गरेको छैन । हिन्दुत्वको रक्षा गर्ने ब्राह्मणहरुले पनि गाई छोेडेका छन् । गाईको मूल्य घटेकोले पूजाआजामा गोदान दुनामा सरेको छ । अहिले गोदान नै दिँदा पण्डितहरुले खुसी मान्दैनन् । गोदान त लगभग शून्य भएको छ’, उहाँले भन्नुभयो ।
छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ भने शहरको सुन्दरतामा प्रभाव परेको छ । यस्तो अवस्थामा गाई निकासीको लागि कानुन बनाउनुपर्ने धारणा लेखक आजादको छ ।
यसअघि पनि बुटवल उपमहानगरलगायतका सहरी क्षेत्रका पालिकाले छाडा पशु चौपायाको नियन्त्रण र व्यवस्थापन कार्यदल गठन गरी काम अघि बढाएका थिए तर छाडा चौपाया व्यवस्थापनको काम व्यवस्थित हुन सकेन । सहरी क्षेत्रमा छाडा चौपाया नियन्त्रणको विषय सधैँ पेचिलो बन्ने गरेको छ । बजार क्षेत्रमा अनियन्त्रित रुपमा आउने चौपायाले शहरको व्यवस्थापनमा बाधा पु¥याउने गरेको छ ।
‘उपमहानगरपालिका एक्लैले चाहेर छाडा चौपाया व्यवस्थापन गर्न समस्या छ । यसमा सबै नगरबासीको साथको आवश्यकता छ’, उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय भन्नुहुन्छ । यो सबैको साझा समस्या भएकाले यसको निराकरणमा सबैको सहकार्य जरुरी रहेको प्रमुख पाण्डेयको भनाइ छ ।
शुभकार्य वा कुनै अवसरमा गौशाला पुगेर गाईगोरुलाई घास, पराल र दाना उपलब्ध गराएर आहारमा सहयोग गर्न पाण्डेयले आग्रह छ । ‘गाई हाम्रो राष्ट्रिय जनावर हो । हामी हिन्दुले गाईलाई माताका रुपमा पूजा गर्छौ तसर्थ सबैले यसको व्यवस्थापनमा सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा पु¥याइएको थियो । पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाइने उपमहानगरपालिकाको भनाइ छ ।
बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन् । अभियान अन्तर्गत बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन सकेर मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम हुनेछ ।
सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेपछि उपमहानगरपालिकाले अभियानकै रुपमा छाडा चौपाया व्यवस्थापनको काम अघि बढाएको हो ।
नगरलाई थप व्यवस्थित र सुन्दर बनाउन छाडा चौपाया व्यवस्थापन थालिएको नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । ‘सडकमा देखिने चौपायाले गर्दा नगरको सौन्दर्यतामा नकारात्मक प्रभाव पर्यो । तयसैले यो अभियान थालेका हौं । सडकमा चौपाया देखिँदासम्म यो अभियान चल्छ’, उहाँले भन्नुभयो ।
अभियान अन्तर्गत शनिबार करिब २५० भन्दा बढि गाईगोरु गौशालामा पु¥याइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । सडकमा छाडिने गाई गोरुका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । सडक चौपायका कारण खासगरी मोटरसाइकल र स्कुटर चालकहरु दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
सडक चौपाया बिच सडकमै बस्दा ट्राफिक व्यवस्थापनमा समेत प्रहरीलाई समस्या हुन्छ । ‘सडक चौपायाका कारण ट्राफिक व्यवस्थापनमा समस्या छ । मानवीय क्षेती नै नभए पनि सामान्य दुर्घटना भइरहन्छन्’, ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक वजिर सिंह विष्टले भन्नुभयो । जिल्लाका स्थानीय पालिकाले छाडा चौपाया व्यवस्थापन कार्य गरिरहे पनि सडकमा चौपाया नियन्त्रणमा नआएको उहाँको भनाइ छ ।