बुटवल । आज वैशाख ७ गते । आजभन्दा दुई सय ९ वर्षअघि आजकै दिन अर्थात् विसं. १८७२ वैशाख ७ गते विश्वविजेता तत्कालीन अंग्रेजसंगको युद्धमा नेपालले विजय हासिल गरेको थियो । बुटवलस्थित जितगढी किल्ला परिसरमा भएको नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको आज वैशाख ७ गतेको दिनलाई विजय उत्सव दिवसका रुपमा मनाइँदै आएको छ ।
बुटवल उपमहानगरपालिका–१ मा अवस्थित यो गढीको संरक्षण तथा सुरक्षाका लागि नेपाली सेनाबाट बुटवल उपमहानगरले जिम्मा पाएपछि पहिलो पटक महोत्सव हुन लागेको हो । यसअघिबा वर्षहरुमा नेपाली सेनाले विविधि कार्यक्रमसहित जितगढी किल्लामा विजयउत्सव आयोजना गर्ने प्रचलन थियो ।
तिनाउ नदी किनारमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको जितगढी किल्ला स्थानीय तहमा जनप्रतिनिधि आएसँगै पूर्व मेयर शिवराज सुवेदीको पालामा यसको संरक्षण थालिएको थियो । बुटवल उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय थलोका रुपमा विकास गर्ने योजनासहित विभिन्न संरचनाहरु पनि निर्माण भएका छन् । जितगढी किल्लाको बिकास गर्ने भनि यहाँ विभिन्न संरचनाहरु निर्माण गरिएपछि ऐतिहासिकता मेटिने भयो भनेर आलोचना पनि भएका छन् ।
यस्तो छ जितगढी किल्लाको ईतिहास
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले वि।स। १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा अंग्रेजहरुलाई घुडा टेकाएको थियो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुटवलको जितगढी किल्लाले विजय प्राप्त गरेको २ सय ८ वर्ष पूरानो इतिहास अझै पनि गर्व गर्न लायक छ । अंग्रेजहरुलाई हराउन सफल जितगढी किल्ला इतिहासका बहादुर नेपालीहरुका लागि मात्र होइन वर्तमान र भावि सन्ततिहरुका लागि पनि गर्व गर्ने र शाहस प्रदान गर्ने किल्ला हो ।
२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउ÷गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो तर नेपाली सेनालाई हराउन सकेनन् । त्यो समय युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर युद्धका लागि तयारी नपुगेको ठानी फिर्ता गएको थियो ।
जनरल उडकै नेतृत्वमा तीन महिनापछि तयारीकासाथ फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं. १८७२ मा विजय हासिल गरी विजय पटाका फहराएका थिए । तत्कालिन समयमा जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।
तिनाउ नदीको दायाँ किनारमा अवस्थित पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।
वि।सं। २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन । यो गढीको प्राचीन स्वरुप कस्तो थियो यकिन साथ भन्न सकिदैन । उजिरसिंह कै समयमा यो गढीको स्वरुप कस्तो थियो त्यो पनि भन्न नसकिने यसबारेमा अध्ययन गरिरहेकाहरुले बताउछन् । संभवत उजिरसिंहको समयसम्म यो गढी पूर्ण रुपमा थियो र वि.सं १८७३ पछि क्रमशः यो गढीको महत्व र प्रयोग नभएकोले उपेक्षित हुँदै गएको हो कि भन्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।
अझै विस्तार र संवद्र्धन खोजेको सम्पदा स्थल
जितगढी गुरुयोजनाअनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भएका हुन् । गुरुयोजनाअनुसार नै जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माण भइसकेको छ भने सम्पदा परिसरमा सरायँ नाच स्थल, थ्रिएटर, अबलोकन पुल, सालिक, हरियाली उद्यानलगायतका संरचना निर्माण भइसकेका छन् । यसका साथै अब किल्ला परिसरसँगै जोडिएका र सम्पदा स्थललाई नै ढाक्नेगरी ठडिएका विभिन्न संरचनाहरुलाई स्थानान्तरण गर्नुपर्ने छ ।
तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य गरेका छन् । अहिले जितगढी सम्पदा नजिकैबाट ऐतिहासिक नुवाकोट गढी जोड्नेगरी केबल कारसमेत निर्माण भएको छ । सिद्धार्थ केबलकारका अध्यक्ष राजेन्द्र गुरुङले ऐतिहासिक सम्पदा स्थल, हरियालीको संरक्षण र संवद्र्धन गर्दै पर्यटन संरचना निर्माण गरिएको बताउनुभयो ।
किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, पुरानो बुटवललाई सांस्कृति सहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना अधुरै छन् भने तिनाउमा जलपर्यटनको योजना पनि साकार पार्न बाँकी नै छ । बाँकी रहेका सबै कामलाई सरोकारवाला सबैको सहकार्यमा योजनाबद्ध रुपमा साकार पार्दै जाने गरी योजना बनाइएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेको भनाइ छ ।