अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन । शनिबार दिउँसो १ बजेबाट डढेलो सुरू भएको हो । भूमिकास्थान नगरपालिकाको वडा नं ४ को कल्लेरीमा अहिले पनि आगलागी भएको छ । वनमा लागेको आगो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।
धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलाम खिल्जीलगायतका गाउँमा लागेको भीषण आगलागीबाट कम्तीमा २२ घरगोठ जलेर नष्ट भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले जानकारी दिनुभयो ।
प्रहरी, दमकल, स्थानीयले रातभर आगो निभाउने प्रयास गरिरहे पनि डढेलो अझै पूर्ण रुपमा नियन्त्रणमा नआएको थापाले बताउनुभयो । ‘आगलागीबाट मानवीय क्षति नभए पनि घर गोठ जलेका छन्,’ मेयर थापाले भन्न्ुभयो ‘पशुचौपायाको ठूलो नोक्सान भएको छ यद्यपी क्षतिको पूर्णविवरण अझै आएको छैन ।’