बुटवल । लुम्बिनी विकास कोषले २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिने विविध कार्यक्रमसहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि तीन लगातार विविध कार्यक्रम गरी मनाउने जनाएको हो ।
बजेटको सुनिश्तिता नहुँदा बुद्धजयन्तीको तयारीमा ढिलाई भएपनि अब तीन दिन उत्सवको रुपमा मनाउने गरी कार्यक्रम तय गरिएको कोषले जनाएको छ । बिहिबार जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताउनुभयो । उहाँले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताउनुभयो ।
मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरुसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताउनुभयो ।
बुधबार ९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ । मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ । लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ । कोषले भगवान् बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न यसै पत्रकार सम्मेलनमार्फत अपिल गरेको छ ।
यसअघि लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी प्रेस क्लब बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटक प्रवद्र्धनमा मिडियाको भूमिका विषय अन्तक्र्रिया कार्यक्तम गरेको थियो । उक्त अवसरमा कोषका उपाध्यक्ष डा.लामा, कोषाध्यक्ष भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईलगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आफूहरु पत्रकारहरुसँग सहकार्य गर्दै आगाडि बढ्ने बताउनुभयो । यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, कोषका प्रेस कसल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर पोखरेलले बोल्दै मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।