काठमाडौं । देशमा यो साता वर्षाको राम्रो सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आइतबार (साउन २५) बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने सम्भावना छ । आउँदो बुधबार (साउन २८)सम्म धेरै ठाउँमा भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको भनाइ छ ।
केही ठाउँमा ‘भीषण’ वर्षाको पनि सम्भावना रहेको उनले उल्लेख गरेका छन् । “आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने, बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने र केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ,” उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
उनका अनुसार, भारी वर्षा पूर्वबाट सुरु हुनेछ । उनले लेखेका छन्, “बुधबार पश्चिमसम्म भारी वर्षा पुग्ने देखिन्छ ।”
यो वर्ष मनसुन सुरु भएपछि देशका केही स्थानमा हल्का र मध्यम वर्षा भएको थियो । तराईमा खडेरी थियो । “तर, अगस्ट सुरु भएदेखि देशभरि वर्षा भएको छ,” मौसमविद् पोखरेलले लेखेका छन् ।