भैरहवा–रुपन्देहीमा आज शनिबार ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ महिला र ३९ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ।
थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ५२ पुगेको छ। निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिर्पोटअनुसार साँझ साढे ६ बजेसम्म रुपन्देहीका विभिन्न ८ स्थानीय तहमा सो संख्या कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमाहानगरपालिकामा ९ महिला र २२ पुरुष गरी ३१ जना संक्रमित थपिएका छन्।
त्यस्तै सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ११ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ३, शुद्धोधन र तिलोत्तमामा २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार पुगेको शाहले जानकारी दिए।
कार्यालयले दिएको तथ्यांकअनुसार हाल सम्म २० जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १२२८ जना निको भएर फर्किसकेका छन् भने ७५२ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।