भैरहवा–रुपन्देहीमा सोमबार १८ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमित र संक्रमणमुक्त भएका ४२ जनासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार साँझ साढे ६ बजेसम्म ३ नगरपालिकाका थप ९ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका ९ महिला ४ पुरुष गरी १३ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना पुरुषमा र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ७२ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १३०२ जना निको भएर फर्किसकेका छन भने ७४९ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।