काठमाडौं-अनसन बसिरहेकै अवस्थामा जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं पुगेका डा. गोविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगिएपनि चर्को दबाब र आलोचनापछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
काठमाडौं पुगेपछि शिक्षण अस्पताल जान खोजेका केसीलाई प्रहरीले जबरजस्ती महाँकालस्थित ट्रमा सेन्टरमा पुर्याएको थियो। त्यहाँबाट उनले स्वेच्छिक डिस्चार्ज लिएपछि अहिले ६.३० बजे सहयोगीका साथ उनी महाराजगञ्ज पुगेका हुन्।
केसीका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गर्दै ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए। सामाजिक सञ्जालमा पनि केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगिएकोमा विरोध भएपछि उनलाई शिक्षण अस्पताल आउन रोकिएको थिएन।
डा. केसीलाई अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेर उनको स्वास्थ्य जाँच भइरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
जुम्लामा अनशनरत डा. केसीलाई स्वास्थ्यमा समस्या आएपछि मंगलबार त्यहाँबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो।
केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई शिक्षण अस्पताल सारिएको हो। उनी लामोसमयदेखि पटक पटक स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसन बस्दै आएका छन्।