कपिलवस्तु–कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ किलो चरेस बरामद गरेको छ।
सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर मनहरि गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं ५ घर भई हाल कपिलवस्तुको शिवराज नपा ९ बानियाभर बस्ने वर्ष ३५ की वसन्ती घर्ती रहेका छन्।
उनीहरुलाई चेकजाँच गर्ने क्रममा ३७ किलो लागूऔषध चरेस बरामद गरिएको हो।
यस्तै कपिलवस्तु प्रहरीले सोमबार यशोधरा ७ मर्यादपुरबाट लागूऔषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो।
ब्राउन सुगर बिक्री गर्ने उदेश्यले सिमावर्ती जार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुराकीको आधारमा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धनिया रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ। धागोले बेरिएको अवस्थामा ८ वटा पोका बनाई प्लाष्टिकमा राखी लुकाएर ल्याएका थिए।
पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।