गुल्मी–गुल्मीको छत्रकोट गाउँपालिका ४ को श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको वर्षौसम्म हस्तान्तरण हुन सकेको छैन।
भवन निर्माणको जिम्मा पाएका निर्माण व्यावसायी रामप्रसाद पन्थ र हरि न्यौपानेको दुर्घटनामा ज्यान गयो। स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने कार्यालय पनि पुनसंरचनासंगै विभाजित भए।
तत्कालीन शहरी विकास तथा भवन डिभिजन विभाग पाल्पा अहिले संघमा समायोजन भएको छ।
निर्माण व्यावसायीले पुरा नगरेको भवनको काम निर्माण समिति मार्फत गरिएको छ।
श्रमिकलाई काम गरेको पैसा दिन नसकेपछि निर्माण समिति चरम विवादमा फस्दै गएको छ। श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म निर्माण समितिले गरेको कामको कुनै स्टिमेट, सम्झौत, बिल भरपाई र प्रतिवेदन छैनन्।
स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रामचन्द्र ज्ञवालीले भवन निर्माणदेखि बाँकी काममा समेत कार्यालयको कुनै सहभागीता नरहेको र निर्माणका कुनै कागजपत्र आफुहरुसँग नभएको बताए।
अहिलेका वडाध्यक्ष डिलाराम न्यौपाने ०७३ सालमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण समितिका अध्यक्ष थिए।
०७३ साउन २४ गते न्यौपानेको अध्यक्षतामा बसेको निर्माण समितिको बैठकले केन्द्रको कम्पाण्ड पर्खाल लगाउने, पूरानो पर्खाल भत्काउने र जग खन्ने कार्यका लागि एक लाख दश हजार रुपैयाँमा मान बहादुर चौधरीलाई निमार्णको जिम्मा दिइएको छ।
चौधरीलाई नै पर्खाल लगाउन प्रति घनमिटर एक हजार पाँच सयका दरले दिने निर्णय समिति मार्फत गरिएको छ।
सोही प्राथमिक स्वास्थ्य केन्द्रमा पलम्बिङ्ग, इलेक्ट्रिोनिक र टायलको काम सन्तविर नेपालीलाई दिएको थियो। उनीहरुलाई निर्माण समितिले काम अनुसारको पैसा नदिएपछि श्रमिकहरुले मिडिया र कानुनी उपचार खोज्न थालेका छन्।
मान बहादुर चौधरीले निर्माण समितिबाट काम गरेको पाँच लाख ११ हजार रुपैयाँ पाउनु पर्ने चौधरीको दाबी गर्छन्। उनले समितिबाट एक लाख ८५ हजार मात्रै पाएका छन्।
करिव साढे तीन लाख पाउनुपर्ने भएकाले न्यौपाने र निर्माण समितिसँग पटकपटक पैसा मागे। कुनै उपाय नलागेपछि अन्तिममा घर धितो राखेर काम गर्ने श्रमिकलाई ज्याला दिएको बिडम्बना चौधरीले सुनाए।
‘मैले सम्झौता र पैसा अनुसारको काम गरेको छु–उनले भने–काम गरेर घर धितो राख्नुपर्ने कस्तो बिडम्बना।’ उनले न्यौपाने विरुद्ध न्यायको लागि न्यायिक समितिमा उजुरी दिएका छन्।
उजुरी दिएको पनि डेढ महिना पुगे। तर न्यायिक समितिले पनि कुनै न्यायिक छलफल गरेको छैन। सोही प्राथमिक स्वास्थ्य केन्द्रमा पलम्बिङ्ग, इलेक्ट्रिोनिक र टायलको काम सन्तविर नेपालीलाई दिएको थियो।
उनले पनि आफुले करिब डेढ लाखको काम गराएर ५० हजार मात्रै दिएको गुनासो गरे। छत्रकोट गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक नर्मदा भण्डारीले कोही कसैबाट काम गरेर खाने श्रमिकहरुको श्रम शोषण गर्न नपाइने भएकाले वडाध्यक्ष न्यौपानेलाई छिटोभन्दा छिटो काम गरेको पैसा दिने वातावरण मिलाउन भनिएको बताइन्।
उनले कार्यान्वयन गर्ने कार्यालयको विभाजन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने दुवै निर्माण व्यवसायीको मृत्युको कारण समस्या बल्झिदै गएको बताइन्। उनले समितीमा मान बहादुर चौधरीको बाहेक अरुको निवेदन नपरेको बताइन्।
संघिय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख राजेन्द्र पाण्डेयले आफुहरुसँग अहिले निर्माण व्यावसायीको धरौटी मात्रै आएको बताए।
उनले निर्माण व्यावसायीको मृत्यु भएको, काम सम्झौतामा भनेअनुसार नभएको तर बाँकी निर्माण समिति मार्फत काम भएकाले अहिले समस्या भइरहेको पाण्डेयले जानकारी दिए।
‘कानुनी रुपमा निर्माण व्यावसायी बाहेक धरौटी रकम मार्फत उपभोक्ता वा निर्माण समितिले काम गरेर खर्च गर्न पाइदैन,–उनले भने,‘कार्यालयले समस्या समाधानको सहजीकरण गर्छ तर स्वास्थ्य केन्द्रका अरु समस्या सल्टिन पर्यो।’
छत्रकोट गाउँपालिका वडा नं ४ का वडाध्यक्ष डिलाराम न्यौपानेले भने आफुलाई तत्कालिन शहरी विकास तथा भवन डिभिजन विभाग पाल्पाले समस्यामा पारेको बताए।
निर्माण व्यवसायीको मृत्यु भएपछि कार्यालयले पाल्पा नै बोलाएर केन्द्रको बाँकी कामलाई १२ लाखमा सम्झौता गराएर सात लाख मात्रै भुक्तानी दिएकाले काम गर्ने सबैको पैसा दिन गाह्रो परेको न्यौपानेले बताए।
उनले निर्माण समितिलाई कार्यालयले सम्झौता अनुसारको रकम नदिएपछि सवैलाई कामको आधारमा दामासायीले धेरै थोरै पैसा दिएको जानकारी दिए। ‘काम गर्नेले सवै पैसा नपाएको सत्य हो, कामको मुल्यांकन र भुक्तानी कार्यालयले गर्नुपर्छ,’उनले भने,‘मैले रकम दुरुपयोग गरेको प्रमाण भए कानुनले छोड्दैन।’ आफुहरुले धेरै पटक कार्यालयलाई फिल्डमा आएर सहजीकरण गर्न आग्रह गरे पनि नआएको बताए।