भैरहवा–३ वर्षदेखि मर्मतको पर्खाईमा रहेको बेलहिया बुटवल सडकको बसपार्क अगाडिको खण्ड मर्मत हुन थालेको छ।
लुम्बिनी टाइम्सले ‘नमूना सडकमा उम्रियो घाँस, बजेट आएर पनि भएन मर्मत’ शीर्षकमा समाचार सम्प्रेषण गरेको दोस्रो दिन नै आयोजनाले अन्यत्र गरिरहेको मर्मत कार्य रोकेर बसपार्क अगाडि बिग्रिएको सडक मर्मत गर्न लागेको हो।
सडक मर्मतका लागि २०७६/०७७ मा पहिलो पटक बजेट ९० लाख बजेट विनियोजन भए पनि सडक हालसम्म मर्मत हुन सकेको थिएन।
टेण्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट भई चैतको पहिलो साताबाट मर्मतको काम सुरु हुन्छ भनेको आयोजनाले असोज लाग्दा समेत मर्मततर्फ चासो नदिएकोले ६ लेन सडकमा घास उम्रेको थियो।
मर्मतको जिम्मा पाएको आर एण्ड आर सिभिल कन्स्ट्रक्शनले मर्मतको काम शुरु गरेको छ। एक लेन सडक बन्द गरेर मर्मतको कार्य भइरहेको छ।
‘साना टालटुलको काम पहिलो चरणमा गरेर मेसिनरी काम पछि गर्छौ, तलबाट नै पानी आएकोले आँखा अस्पताल दक्षिण तर्फको काम केही रोकेका छौं’–निर्माण कम्पनीका ईन्जिनियर सक्षम अधिकारीले भने–उताको काम रोकेर बसपार्क अगाडिको उठेको भाग काटेर सम्याइएको छ, आज सफा गरेर लेबलिङ गर्छौ, अनि पिचको काम हुन्छ मौसमले साथ दिए १५ दिन भित्र मर्मत ठेक्काको काम सबै सकिन्छ।’
बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले ५० टन क्षमता भार सह्न सक्ने मापदण्डमा बनेको सडकमा क्षमताभन्दा अधिक भारका गाडी गुडाउने भएकोले सडक भत्केको जानकारी दिएको छ।
ठेक्का सकिएको ६ वर्ष पुग्न लाग्दा पनि हाल सम्म सडक मर्मतको बजेट आएको थिएन। ९० बजेट आएपछि पहिलो चरण यस क्षेत्रको मर्मतकाको काम सुरु भएको छ, टेण्डर प्रक्रियाबाट ८० लाखमा आर एण्ड आर सिभिल कन्स्ट्रक्शनले मर्मतको काम गरिरहेको आयोजनाकी इन्जिनियर शुभेक्षा सारुले बताइन।
‘हालको बजेटले मर्मत पुरा नहुने देखिएपछि बेलहियादेखि बुटवल सम्मको सडक बाँकी मर्मतका लागि थप इस्टिमेट गरेका छौं, सूचना पनि प्रकाशित भइसकेको छ, २ करोड लागतको अनुमान छ, मर्मतका लागि निर्माण कम्पनि छनोट र टेण्डर प्रक्रियामा रहेको छ’–उनले भनिन्।
२४ किलोमिटर सडक ३ बर्षमा पुरा गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको भएपनि ९ वटा निर्माण कम्पनीले विभिन्न प्याकेजमा निर्माण सम्पन्न गर्ने योजना ९ वर्ष वितिसक्दा पनि पुरा हुन सकेको छैन। १०.४० मिटर चौडाईको ४ लेन सडक, सडकको दाँयाबाँया ६ मिटर चौडाईको सर्भिस लेन, बीचमा ग्रीन जोन र डिभाइडरहरु सहितको सडक निर्माण हुन्छ।
बेलहिया बाइपासदेखि भन्सार सम्मको सडक र बुटवल तर्फ (राजमार्ग चौराहा–चिडियाखोला) को सडक विस्तार कार्य बाँकी छ, सडक चालू आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुने आयोजनाको दाबी छ।
शर्मा दिवा कन्चनजङ्गा जेभीले सडक निर्माण सम्पन्नपछि ल्याबबाट गुणस्तर परीक्षण गरी आयोजनालाई सडक हस्तान्तरण गरेको थियो।
८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हाक्न सक्ने क्षमतामा निर्मित सडक वर्षौदेखि मर्मतकोे प्रतिक्षामा रहेकोले भासिएर कुरुप बन्दै गएको थियो। निर्माणमा लापरबाहीका कारण अल्प समयमै सडक जीर्ण बन्दै गएको छ।