बुटवल-चुरेको फेदमा रहेको बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको वस्तीलाई भुक्षयबाट बचाउने अभियान थालिएको छ । स्थानीय संघसंस्था तथा बुद्धिजिवीहरुले चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्च नामक संस्था गठन गरेर भुक्षयग्रस्त क्षेत्रको दीर्घकालीन समाधानका लागि अभियान थालेका हुन् ।
आज बुटवलमा भएको एक भेलाले मजदुर नेता कमल गौतमको संयोजकत्वमा मञ्च गठन गरेको हो । १५ सदस्यीय मञ्चमा हिराध्वज शाहा सहसंयोजक रहेका छन् । सदस्यमा भुक्षयग्रस्त क्षेत्रमा क्रियाशिल विकास परिषद्, खानेपानी, टोल विकासहरु रहेका छन् ।
मञ्चका संयोजक गौतमले ०५५ साल तथा त्यसअघिदेखि बुटवलको सिद्धवावादेखि आदर्शनगरसम्मको क्षेत्रमा खसिरहेको पहिरोले वस्ती जोखिममा रहेको भन्दै यसको दीर्घकालिन समाधान सरकारले गरिदिनुपर्ने बताए । उनले बस्ती सार्नुपर्ने वा भुक्षयबाट खसेको पहाड नै कटान गर्नुपर्ने विकल्प सरकारलाई सुझाएका छन् ।
‘यो १० हजारभन्दा धेरै परिवार बसेको क्षेत्र हो, यसको दीर्घकालीन समस्या समाधान हुनुपर्छ, उनले भने–‘यस क्षेत्रकै सांसद विष्णु पौडेल अर्थमन्त्री भएको समयमा जनता बचाउने काम हुनुपर्छ । हामीले प्रदेश सरकारलाई पनि यो विषयमा जानकारी गराउछौं ।’ गौतमले बस्ती स्थानान्तरणभन्दा पहिरोले चोइटिएको पहाड नै कटान गरेर विकास निर्माणमा कच्चा पदार्थ प्रयोग गर्नुपर्ने बताए ।
भेलामा बोल्दै भुगर्वविद् डा. भोजराज कडेरियाले बुटवलमाथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवल नै सखाप पार्ने बताए । ‘पहिरोले चिराचिरा परेको जमिन छ, चुरे त्यसै पनि कमजोर हुन्छ, ढिलोचाढो पहिरो खस्ने निश्चित नै हो, उनले भने,–‘यसको दीर्घकालीन समाधान गरेर ठूलो क्षति जोगाउनुपर्छ ।’ आदर्शनगरदेखि गोलपार्कसम्मको पहाडमा पहिरोको उच्च जोखिम रहेको उनले बताए ।
भेलामा सहभागिले पहिरोले चोइटिएको चुरे पहाड कटान गरेर तिनाउ नदि किनारमा बन्ने कोरिडोर र पूर्वपश्चिम राजमार्गमा कच्चा पदार्थ राख्नुपर्ने सुझाव दिए । उनीहरुले सर्बसाधारणको ज्यान बचाउनका लागि सरकारले छिट्टै यो कदम चाल्नुपर्ने उनीहरुले बताए ।
यो क्षेत्रमा ०५५ मा ठूलो पहिरो गएको थियो । त्यसअघि पनि पहिरोले बस्ती मासिएको थियो । राजा बिरेन्द्रले त्यहाँको बस्ती स्थानान्तरण गर्न पुर्नवास कम्पनी बनाएका थिए । पछि सुकुम्बासी हुदै अहिले पुर्जावाल जग्गाधनीहरुले सो क्षेत्र भरिएको छ ।