भैरहवा–चीनको पश्चिमी क्षेत्र सिनजियाङमा रहेका अल्पसंख्यक मुस्लिम माथि भइरहेको दमनप्रति मुस्लिम अगुवाहरुले ध्यानाकर्षण गराएका छन्।
मुस्लिम वेलफेयर सोसाइटीको अगुवाईमा यस क्षेत्रका मदरसा, मुस्लिम संघसस्था, मस्जिद समिति तथा अगुवाहरुले सामुहिक रुपमा चिनियाँ प्रशासनले देखाएको मानव अधिकार उल्लघन घटना प्रति आलोचना गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत परराष्ट्र मन्त्रालय, चिनियाँ दुतावास काठमाडौ र मुस्लिम आयोगलाई ध्यानाकर्षण गराउदै बन्देज फुकुवा गर्न माग गरेका हुन्।
चीनको सिनजियाङ इलाकामा एक करोडभन्दा बढी उइगर मुसलमानहरु बसोवास गर्दै आएका छन्।
जसलाई खुल्ला जेल जस्तो गरी नजरबन्दमा राखिएको सार्वजनिक भएको उनीहरुले बताएका छन्। लामो समयदेखि उईगर मुसलमानको जेनोसाइट भइरहेको उनीहरुको धार्मिक आस्था माथि हमला भइरहेको छ।
आन्दोलन गर्ने संगठित हुन, बुर्का लगाउने, रमजानको व्रत राख्ने हक खोसिने, दाह्री पाल्ने, सभा सेमिनार चाडपर्व मनाउने स्वतन्त्रा खोसिनु जस्ता कार्य बन्देज लगाइएकोे छ।
सो कार्यको नेपाली मुस्लिम समुदायले चिन सरकारको मुस्लिम समुदाय माथिको नीतिको भत्र्सना गर्दै मस्लिम समुदाय माथि भएको सम्पूर्ण बन्देज फुकुवा गरी स्वतन्त्रता प्रदान गर्न अपिल गरेको मुस्लिम वेलफेयर सोसाइटीका सचिव मोहम्मद अकिलले बताए।
अगुवाहरुले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रजिअ खड्काले जिल्ला प्रशासन कार्यालयले यथासक्य छिटो सम्बन्धित कार्यालयमा पठाउने बताए।
ध्यानाकर्षण पत्रमा २ दर्जन भन्दा बढी संघसस्था, मस्जिद तथा धार्मिक संगठनहरुको प्रतिनिधीको हस्ताक्षर सहितको अपिल छ।
चीनमा उइगर मुसलमानमाथि दमन र सरकारी प्रतिबन्ध बढ्दै गएको छ। चीनको दमन बढ्दै गएकोले उनीहरुमाथि रमजानका समयमा रोजा राख्न पनि प्रतिवन्ध लगाइएको थियो।