जुम्ला- नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। जिल्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म साढे २ घण्टा लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ।
यसैगरी विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म ९ घण्टा लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ। विद्युतको माग धेरै र आपूर्ति कम भएकाले लामो समय लोडसेडिङ गर्नु परेको नेपाल विद्यतु प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ। जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेकाले साना जलविद्युत आयोजना बिजुली वितरण गरिन्छ।