बुटवल- नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०)बाट राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम पुरस्कृत भएकी छन्। काठमाडाँैमा सोमबार आयोजित कार्यक्रममा गौतमलाई सभामुख अग्नीप्रसाद सापकोटाले उक्त पुरस्कार प्रदान गरेका हुन्।
‘गर्भमा नै मारिन्छन् छोरी’ शीर्षक समाचारका लागि गौतमलाई सो पुरस्कार प्रदान गरिएको हो । तराइमा दाइजो प्रथाको कारण छोरी जन्माउन नचाहने अभिभावकहरुको संख्यामा वढोत्तरी हुंदै जांदा अहिले कसरी तराइमा महिला र पुरुषको जनसंख्या असमान वन्दै गएको छ र यसले कस्ता दुरगामी असरहरु निम्त्याउंदै छ समाचारमा उल्लेख छ ।
रुपन्देहीलाई कार्यक्षेत्र वनाएकी नीरा स्थानीय एफएम रेडियोवाट पत्रकारिता प्रारम्भ गरेर स्थानीय टेलिभिजनहरुमा समेत अनुभव प्राप्त गरेपछि हाल राष्ट्रिय समाचार समितिमा कार्यरत रहेकी छिन् । वुद्धिजममा स्नातकोत्तर तहमा अध्ययनरत नीरा नेपाल पत्रकार महासंघ, सञ्चारिका समुह लगायत थुप्रै स्थानीय संघ संस्थामा समेत आवद्ध छिन् ।
गौतमसँगै कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई पनि इञ्जाद्वारा स्थापित एक लाख रुपैयाँ राशीको सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् ।