बुटवल । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफ्ना मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारवाही गर्न माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेपछि सचिव पौड्यालको आज लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।
‘सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७र०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन्,’ मन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ।’
सामाजिक विकास मन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरूवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेको थियो । संघीय मामिला मन्त्रालयले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरूवा गरेको हो ।