बुटवल- नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ। महासंघको हालै भएको केन्द्रिय समितिको बैठकले केन्द्र, प्रदेश र शाखाको मतदान एकैदिन हुने गरी निर्वाचनको मिति तय गरेको हो। यसपटक महासंघका साधारण सदस्यले समेत शाखा सहित तीनै तहको कार्यसमिति चयनको लागि मतदान गर्न पाउने छन्। निर्वाचनले प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य पनि चयन गर्ने छ।
महासंघको केन्द्रीय कार्यसमितिको एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक समावेशी उपाध्यक्ष, महासचिव, ६ सचिव (महिला, आदिबासी जनजाती, मधेसी, दलीत, एशोसिएट) र कोषाध्यक्ष सहित १२ पदाधिकारी निर्वाचित हुने छन्। ३७ जना कार्य समिति सदस्य चुनिने छन्।
प्रदेश समितिमा एक अध्यक्ष, एक महिला सहित २ उपाध्यक्ष, महासचिव, १ समावेशी सहित २ जना सचिव र १ कोषाध्यक्ष गरी ७ पदाधिकारी र १४ कार्य समिति सदस्य गरी २१ पदको लागि निर्वाचन हुने छ। शाखाको लागि एक अध्यक्ष एक महिला सहित २ उपाध्यक्ष, एक सचिव, १ समावेशी सहित २ सह सचिव, एक कोषाध्यक्ष चुनिनेछन्। त्यसै गरी शाखाको सदस्यता संख्याको आधारमा कार्यसमिति सदस्य चुनिने छन। निर्वाचनले प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य पनि चयन गर्ने छ।
एमालेको नेपाल निकट पत्रकार र माओवादी निकट पत्रकारको सहकार्य
आगामी निर्वाचनको लागि माओवादी निकट प्रेस संगठन र प्रेस चौतारीको माधव नेपाल निकटको समुहले सहकार्य गर्ने घोषणा गरेको छ। मंगलबार प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका महासचिव राजेश राई, राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघका अध्यक्ष उदय जियम, क्रान्तिकारी पत्रकार महासंघका कार्यबहाका अध्यक्ष नारायण पंगेनी र जनपत्रकार संगठनका संयोजक शेर बहादुर विकले विज्ञप्ती जारी गर्दै आफूहरुबीच सहकार्य हुने जनाएका हुन्।
केपी ओली निकट प्रेस चौतारीको समूह, प्रेस युनियन, जसपा निकट प्रेस मञ्च नेपाल सहकार्यको सम्भावना देखीएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोरावको चुनावमा पनि यी संगठनबिच तालमेल भएकाले महासंघको चुनावमा पनि सहकार्यको सम्भावना देखीएको छ।