सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट आफूलाई एक गाउँपालिकाको अधिकृत बताउने एक व्यक्ति पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दीपक बुढालाई बिहीबार पक्राउ गरेको हो।
एक महिलाको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका बेला बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । यो नामको गाउँपालिका नै छैन ।
प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए।
प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ।