बुटवल - बुटवलको योगिकुटी-मगरघाट सडक ५० फूटमा विस्तार गरिने भएको छ। सडक विस्तारको लागि ५० फूटको सिमाभित्र पर्ने सडक किनारका घर भत्काउन आग्रह गरिएकाे छ। बुटवल १० को योगिकुटीको विद्युत सवस्टेसनदेखी ११ नम्बर वडाको मगरघाट पुलसम्म बाइपास सडकको रुपमा स्तरोन्नती गर्न लागिएको हो।
यो सडक बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमानामा पर्दछ। दुवै पालिकाले सूचना जारी गरेर आ–आफ्नो क्षेत्रमा पर्ने सडक सिमामा पर्ने घर भत्काउन आग्रह गरेका छन्। योगिकुटीको चोक पूर्व ४ वटा र पश्चिम ३ वटा गरी ७ वटा मात्र घर भत्काउनुपर्ने देखिएको छ।
स्थानियले नै समिति गठन गरेर सडक फराकिलो गर्ने पहल गरेकाले घर भत्काउन समस्या नहुने बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। ‘५० फूट चौडाइका थोरै घर मात्र परेका छन्। त्यसबाहेक केही कम्पाउण्ड मात्र भत्किन सक्छ।’ उनले भने ‘नयाँ घर बनाउनेले धेरैले सडक विस्तार होला भनेर ठाउँ छोडेरै बनाएका छन्।’ घर भत्काउन कसैलाई जोडबल गर्न नपर्ने वडाध्यक्षले क्षेत्रीले बताए।
करिब २ किलोमिटर सडक विस्तारको लागि डिभिजन सडक कार्यालय बुटवलले काम अघि बढाएको छ। घर टहरा हटाउने कार्य सकिएपछि टेण्डर प्रक्रिया अघि बढाउने डिभिजन प्रमुख जयलाल मरासिनीले बताए। ‘चालु आर्थिक वर्षमा टेण्डर प्रक्रिया र विस्तारको केही काम सुरु हुन्छ।’ उनले भने ‘अर्को आर्थिक वर्षमा धमाधम विस्तारको काम हुन्छ।’ सडक विस्तारसँगै विद्युत, खानेपानीको पाइप विच्छाउने लगायतका काम गर्नुपर्ने मरासिनीले बताए।
मगरघाटको पक्कीपुल उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र स्थानियबीच सडक विस्तार गर्ने बारे छलफल भएको थियो। त्यसपछि सडक विस्तारको काम अघि बढाउन लागिएको मरासिनीले बताए।
बुटवल मोतिपुरको रानीगञ्ज र योगिकुटी जोड्ने पक्कि पुल बनेपछि यो सडक निकै व्यस्त बनेको छ। साँघुरो भएका कारण सडक अस्तव्यस्त छ। बुटवलको मोतिपुरसँगै शुद्धोधन र सियारी गाउँपालिकाका स्थानियहरुले बुटवल आउन यही सडक प्रयोग गर्ने गरेका छन्। योगिकुटी मगरघाट सडक पश्चिम तर्फ जान बैकल्पिक सडकको रुपमा रहेको छ।