बुटवल । नेपाल पत्रकार महासंघको आउँदैं गरेको चुनावका लागि प्रेस चौतारी नेपाल रुपन्देहीले निर्वाचनमा उम्मेद्वार छनोट तथा समन्वय र सहकार्यका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । आगामी चैत्र २५ गते हुने महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा संगठनको तर्फबाट नेतृत्वका लागि जाने उम्मेद्वाहरुको टुङ्गो लगाउन महासंघ रुपन्देही शाखाका पूर्व अध्यक्ष डिआर घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
निर्वाचनमा एकल रुपमा जाने वा अन्य संगठनहरुसँग सहकार्य गरेर जाने विषयमा निर्णय गर्ने गरी काम गर्ने कार्यदलको सदस्यहरुमा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदीप आचार्य, चौतारीका केन्द्रीय सदस्य युवराज पाण्डे, रुपन्देही अध्यक्ष अमृत गिरी र सदस्य सम्झना शर्मा रहेका छन् । कार्यदलले निर्वाचनमा छनोट हुने उम्मेद्वारहरुको नाम टुङ्गो लगाउनुका साथै अन्य संगठनहरुसँग सहकार्यका लागि छलफल तथा चुनावी रणनीति तयार गर्ने छ ।
भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रीय सचिव तथा महासंघ लुम्बिनीका उपाध्यक्ष भरत केसीले सकेसम्म नेतृत्वलाई सर्वसहमत हुने र सक्षम नेतृत्व पुग्नेगरी अघि बढ्न आग्रह गरे । प्रेस सेनानी अर्जुन ज्ञवालीले संगठन भित्र आपसी मतभेद सिर्जना नहुने गरी महासंघमा संगठनका तर्फबाट बलियो र सक्षम उम्मेद्वार छनोट गर्न आग्रह गरे । नेकपा एमालेका नेता तेजेन्द्र केसीले संगठनलाई थप बलियो बनाउँदै महासंघमा समेत बलियो उपस्थिती रहने गरी तयारी थाल्न निर्देशन दिए ।
कार्यक्रममा बोल्दै महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु मोहन चापागाईं, शेरबहादुर केसी, डिआर घिमिरे, प्रेस चौतारीका रुपन्देही ईन्चार्ज प्रदीप आचार्य प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी लगायतले संगठनका उम्मेद्वारहरुलाई विजयी गराउन आवश्यक सम्पूर्ण तयारीमा जुट्न आह्वान गरे ।