भैरहवा - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले डिजिटल प्रणली सहित एकीकृत नागरिक सेवा केन्द्र संचालनमा ल्याएको छ। कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि डिजिटल प्रविधिमा आधारित टोकन सिस्टम सहितको सेवा केन्द्र संचालनामा ल्याएको हो ।
आइतबार लुम्बिनीका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्द आचार्यले पहिलो टोकन सेवाग्राहीलाई प्रदान गर्दै उक्त प्रणालीको सुरुवात गरेका हुन। सेवाग्रहीको काम छिटो छरितो र तोकिएको ठाउबाट कार्य सम्पादन गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय मध्ये नेपालमै पहिलो पटक रुपन्देहीबाट सेवाको शुभारम्भ भएको हो ।
कुनै पनि काम लिएर प्रहरी कार्यालयमा पुगेपछि पद्धति अनुसार काम हुने भएकोले प्रविधि युक्त सेवा सहितको ‘नागरिक मैत्री प्रहरीको अभियान’ को रुपमा यसलाई लिएको डिआइजी आचार्यले बताए । ‘नागरिकको सुनुवाई भएन भन्ने गुनासो र कुन कामको लागि कहाँ जाने भन्ने बारे आमनागरिकलाई ज्ञान नभएकोले झन्झटीलो नहोस, द्रुत गतिमा काम गर्नका लागि यो प्रणलीको विकास गरिएको हो।’ उनले भने ‘सम्भवतः यहाँ नै पहिलो अभ्यास हो।’
रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले नागरीक सेवा केन्द्रलाई कम्प्युटरमैत्री बनाईएको बताए । कुनै पनि नागरिक समस्या लिएर आउदा पहिला गेटमै रहेको नागरिक सेवा केन्द्रमा आफनो काम र फाट उल्लेख गरे पछि सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गर्ने उनको भनाइ छ।
‘सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गरे पछि सो सम्बन्धित फाटमा पुग्ने भएकाले काममा सहजता आउने र जो पहिला आउछ उसैको काम अगाडी हुन्छ । उनिहरुलाई टोकन समेत दिइन्छ।’ उनले भने ‘पछाडी आएर मेरो पहुच छ छिटो काम हुन्छ भन्ने हुदैन, सबै टोकन प्रणाली अनुसार काम हुने छ ।’
बेलहिया बाइपासमा प्रहरी विट
जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय बेलहियामा प्रहरी विट(चेक प्वाइन्ट)बाट सेवा सुभारम्भ भएको छ। पहिलै देखि चेक प्वाइन्टको रुपमा रहेको बेलहियामा ५ लाखको लगातमा प्रहरी विट स्थापना गरिएको हो । चेक प्वाइन्टको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले शुभारम्भ गर्दै प्रहरी कर्मचारीको काममा सहजताका लागि घाम पानीमा ओत लाग्ने गरी विटको स्थापना गरिएको बताए ।
नागरिकको सेवा, सुरक्षा र सिमाबाट हुने अबैध सामान भित्रिन नदिन, सवारी साधनहरुको चेकजाँच, अपराध नियन्त्रण गर्न सहज होस भन्ने उद्देश्यले व्यवस्थित रुपमा प्रहरी विटको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए । बाटोको छेउमा अस्थाई रुपमा बस्दै आएको प्रहरीको सहजताका लागि विट स्थापना गरिएको हो ।