काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरुलाई आग्रह गरेका छन् ।
आजको बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए ।
उनले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गरे ।
उनले सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको कानूनका बारेमासमेत ध्यानाकर्षण गराएका थिए ।
एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।रासस