पाल्पा-पूर्वखोला गाउँपालिका पाल्पाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। गाउँपालिकाले कार्यालय परिसरमा सरसफाइ तथा वृक्षरोपण गरेको छ।
वृक्षरोपण कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले स्थानीय तह संविधानले दिएका अधिकार प्रयोग गर्ने क्रममा रहेको बताए। उनले संविधानले दिएका अधिकारअनुसार केही कानुन बनेको र केही बन्ने क्रममा रहेको उल्लेख गरे।
उपाध्यक्ष भागिरथी शर्माले संविधानकै कारण समानुपातिक सहभागिता र समावेशी सिद्धान्तअनुसार प्रतिनिधित्व भएकोले परिवर्तनको महसुस गराएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुको अध्यक्षता, अधिकृत छैठौं हरि टन्डनको सञ्चालन र सामाजिक विकास शाखा प्रमुख कान्ति चुँदालीको स्वागतमा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य नविन आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए।