बुटवल-बुटवल उपमहानगरपालिकाले आक्रमणको निन्दा गर्दै छानबीनको माग गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले घटनाको छानबीन गर्न माग गरेका छन्।
बुटवल उपमहानगरपालिका
प्रेस विज्ञप्ती
विगत केही दिन अगाडिदेखि परिरहेको अविरल वर्षाले बुटवल वडा नं. ३ र ४ ज्योतिनगर क्षेत्रमा गएको भूस्खलनले ज्योतिनगर, लक्ष्मीनगरको वस्ती गम्भिर जोखिममा परेको र उक्त वस्तीलाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने अवस्था श्रृजना भएको छ ।
यतिखेर हाम्रो ध्यान पूर्वाधार निर्माण गर्नु भन्दा मानवीय क्षति नहोस भन्ने अभिप्रायले राहत र उद्धार कार्यमा लाग्ने र भूस्खलनबाट अवरुद्ध नाली र सडकमा थुप्रिएको माटोजन्य, लेदोजन्य पदार्थ मिति २०७८ भदौ १४ का दिन देखि आजका मितिसम्म एक्साभेटर, जेसिभी, टिप्पर जस्ता साधनहरु परिचालन गरि बुटवल बहुमुखी क्याम्पस प्राङ्गगणमा घाटगद्दी गरि राखेको सबैका सामु छर्लङ्ग छ । जोखिमका क्षेत्रमा उद्दारलगायतका कामका लागि संयन्त्रसमेत तम्तयारी अवस्थामा राखिएको छ ।
विसं.२०५५ सालमा सोही क्षेत्रमा गएको भूस्खलन देखि त्यसको नियन्त्रण र व्यवस्थापनमा विगत देखि निरन्तर रुपमा नगरबाट करोडौंको लगानी भएको र नेपाल सरकारबाट समेत विगतमा करोडौंको लगानी भइसकेको छ । यस्तो अवस्था हुँदाहुँदै पनि २०७८ भदौ १३ गते देखि अविरल रुपमा परिरहेको वर्षाको कारण पुनः भूस्खलन भएको. छ । यसप्रकारको प्रकोपको नियन्त्रण र व्यस्थापन कार्य यस पालिकाको क्षमताले मात्र हुन नसक्ने वास्तविकता तर्फ समेत सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छौं, नगरको क्षमतालाई अधिकतम रुपमा परिचालन गर्न कुनै कमी नहरने तर्फ यसै विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छौं ।
आज असोज ४ गतेका दिन विहान देखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त गरेपछि यस पालिकाका प्रमुखको नेतृत्वमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका प्राविधिक टोली सहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको अवस्थामा अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद निन्दनीय एवम् खेदजनक छ ।
उक्त घटनाबाट विचलित नभई ज्योतिनगर, लक्ष्मीनगरवासीको जीउज्यानको सुरक्षा, राहत उद्दारमा लाग्न सम्पूर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दै उक्त क्षेत्रको तत्कालिन र दीर्घकालीन रुपमा वस्तीलाई सुरक्षित बनाउन संघ र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
प्रमुखमाथि भएको उक्त घटनामा संलग्न एवम् दुरुत्साहन गर्ने उपर छानबिन गरी यथासिघ्र कारवाही गर्नका लागि यो बैठक जोडदार माग गर्दछौं । आदरणीय बुटवल उपमहानगरबासी आमा बुबा, दाजुभाई तथा दिदीबहिनीहरु ! हामी बुटवलबासीले पटक पटक विभिन्न प्रकारका प्रकोपहरुको सामना गर्दै आइरहेका छौं ।
यसैले बहुप्रकोप विपद् संकटासन्न सहरमध्येमा पर्ने बुटवल उपमहानगरपालिकाले प्रकोप रोकथाम, प्रतिकार्य, क्षति न्यूनीकरण, पुनस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखी स्थानीय विपत् तथा जलवायु उत्थानशील योजना निर्माण गरि कार्यान्वयनको चरणमा छौं ।
रामप्रसाद रेग्मी
प्रवक्ता
बुटवल उपमहानगरपालिका
२०७८ असोज ४ गते