गुल्मी– गुल्मीको इस्मामा पहिरोका कारण पीडामा रहेका बासिन्दालाई जापानमा रहेका नेपालीले सहयोग गरेका छन्।
इस्मा गाउँपालिका समाज जापानले पहिरो पीडित परिवारलाई नगद सहयोग गरेको छ। इस्मा गाउँपालिका वडा नं १ र ४ का ७० घर परिवारलाई समाजले सहयोग गरेको हो। पहिरोको कारण मृत्यु, घाइते र विस्थापित भएका परिवारलाई सहयोग गरिएको इस्मा गाउँपालिका समाज जापानका सदस्य नारायण खनालले जानकारी दिए।
समाजले तीन वर्गमा राहत वितरणको योजना बनाएको थियो। ‘क’ वर्गमा मृतक र घाइते परिवार, ‘ख’ वर्गमा घर गोठ र चौपाया क्षति भएका परिवार र ‘ग’ वर्गमा अति जोखिममा परेका परिवार रहेका छन्।
खनालका अनुसार समाजले दुई वडा वडाको लागि चार लाख ३७ हजार तीन सय ९५ रुपैयाँ सहयोग संकलन गरेर पठाएको थियो। इस्मा गाउँपालिकाका वडा नं ४ का ‘क’ वर्गका परिवार छैनन्।
‘ख’ वर्गका ६ र ‘ग’ वर्गका १२ जना रहेको समाजको सदस्य संगिता कुवंरले जानकारी दिइन्। त्यस्तै वडा नं १ मा ‘क’ वर्गका तीन, ‘ख’ वर्गका १९ र ‘ग’ वर्गका ३० जनाले राहत पाउने छन्।
समाजले ‘क’ वर्गलाई १५ हजार, ‘ख’ वर्गलाई सात हजार र ‘ग’ वर्गलाई ३५ सयका दरले नगद सहयोग गरेको कुवंरले बताइन्। इस्मा गाउँपालिका समाज जापानका संयोजक रामचन्द्र कुवंरले आफुहरुको अभियानमा स्वतस्र्फूत सहयोग पुराउने सबैलाई धन्यवाद दिए। यो अभियानमा ८७ जनाले एक हजारदेखि २० हजारसम्म सहयोग गरेको उनले जानकारी दिए।
इस्मा गाउँपालिका समाजले राहत वितरणको लागि वडा नं १ मा वडाध्यक्ष चुरा बहादुर खत्री र वडा नं ४ मा वडाध्यक्ष गनुप्रसाद अधिकारीको संयोजकत्वमा सहयोग हस्तान्तरण समिति निर्माण गरेको थियो।
इस्मा गाउँपालिका ४ का पहिरो पीडितलाई गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र वडा नं १ का पहिरो पीडित परिवारलाई वडाध्यक्ष चुराबहादुर खत्री आर्थिक सहयोग प्रदान गरेका थिए। पीडित परिवारलाई सहयोग प्रदान गर्दै गाउँपालिका प्रमुख बिष्टले परदेशमा आफ्नो गास कटाएर गाउँको विपदमा सहयोग पुराउने इस्मा गाउँपालिका समाज जापानलाई धन्यवाद दिए।
उनले पहिरोबाट बिस्थापित परिवारको राहत, सहयोग र पुर्नस्थापनाको विषयमा गम्भिर ढंगले अघि बढेकाले धैर्यता मार्फत विपदको सामना गर्नुको विकल्प नभएको बताए। ‘क्षणिक सहयोग र याचनाले पहिरो पीडितको न्याय हुँदैन–उनले भने–केहिबेरको भावना दिर्घकालिन योजना बन्दैन।’
त्यस्तै वडाध्यक्ष गनुप्रसाद अधिकारीले तत्काल अस्थायी आवास निर्माण गरेर बिस्थापित परिवारको व्यवस्थापन गरिएको बताए।
उनले गाउँपालिका मार्फत राहत प्रदान गरिएको र भुगोल र बर्षातले अति जोखिममा परेका घर परिवारलाई अस्थायी आवासमा ल्याउने काम भइरहेको जानकारी दिए। वडा नं १ मा पहिरोले मानवीय क्षति सहित ठूलो भौतिक क्षति पुराएको छ।
अहिले पनि क्षतिको यथेष्ट विवरण संकलनको काम भएकाले तीन वटै सरकार र संघ संस्थाहरुको समन्वयमा उद्धार, राहत र पुर्नस्थापनाको काम अघि बढेको बताए।
उनले अझै पनि विच्छेद भएका सबै स्थानमा खानेपानी खडक र विद्युतको पहुँच पुराउन नसकिएकाले गाह्रो र अप्ठ्यारोलाई समाधान गर्न आफु लागि परेको बताए।
‘विपदमा कोही व्यक्ति र दलले राजनीति गरे त्यसको मूल्यांकन जनताले गर्छन,–’उनले भने–परिस्थितको सामना सबै मिलेर सम्भव छ।’
नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लाल बहादुर कुवंरले प्रवासबाट पठाएको सहयोग रकमको सदुपयोग गर्न सवैलाई आग्रह गरे।