काठमाडौं। केही दिन यता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदैगएको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौंको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेट रहेको छ । केही दिन काठमाडौंको तापक्रम पनि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यस वर्षको मनसुन ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदैगएको छ । त्यसकारण तत्काल पानी पर्ने सम्भावना छैन । यस वर्षको मनसुन पनि ढिलागरी प्रवेश गर्ने भएकाले गर्मी बढ्ने देखिन्छ ।”
गर्मी अझै बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न उहाँको सुझाव छ । सामान्यतया नेपालमा मनसुनको प्रवेश जुन १३ लाई दिने गरिएको छ । तर अहिले नेपालमा प्रवेश गर्ने मनसुन पूर्णरुपमा विकसित नभएकाले जुन १३ (अर्थात् जेठ ३०) मा मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।
गर्मीले जनजीवन प्रभावित
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि गर्मीले तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण झापा, मोरङ, सुनसरी, विरगञ्ज लगायतका जिल्लामा पठनपाठन समेत केही दिनलाई बन्द गरिएको छ । मौसमविद् झाका अनुसार जनकपुर, विरगञ्ज, भैरहवा, नेपालगञ्जलगायत तराईका सबै क्षेत्रको तापक्रम बढेर ४३ डिग्री सेन्टिग्रेटसम्म पुग्ने बताउनुभयो ।
असार पहिलो साता मनसुन भित्रिने
मौसमविद् गोविन्द झाका अनुसार यस वर्षको मनसुन जुन १३ अर्थात (जेठ ३० गते) नेपालमा भित्रनुपर्ने हो । तर नेपाल भित्रिने मनसुन विकसित नै नभएर लुप्त रहेकाले असार पहिलो हप्ता मात्र मनसुन भित्रिने सम्भावना रहेको उहाँले बताउनुभयो ।