चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् ।
मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै उनले भने, “यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।” यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए ।
यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले थपे, “अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।” यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो ।
कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले भने, “कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन् , बिलकुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन भने जस्तै हो ।” जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवद्र्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरे ।
यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उनको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढङ्गले लिनुपर्ने दाहालले बताए ।
माडी चितवनको क्षेत्र नं ३ मा पर्दछ । सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राखिने भएको छ ।
मूर्ति राख्नका लागि निर्माण कार्य धमाधम भइरहेको छ । माडीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दाहालले सो क्षेत्रको निरीक्षण गरेका हुन् । रासस