बलेवा : नेपाल पत्रकार महासङ्घले सही सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान शुरु गर्ने भएको छ ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशील पत्रकारका हातहातमा प्रविधि पुर्याएर सही सूचना सम्प्रेषण गर्न सहयोग गर्ने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले ‘घर पछिको रहर–सही सूचना, प्रविधियुक्त हात, एक ल्यापटप पत्रकारका साथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव विजय रानाले बताए । क्रियाशील पत्रकारलाई आवश्यक उपकरणको व्यवस्थाका लागिसमेत पत्रकार महासङ्घले पहल गर्ने भएको छ ।
“क्यामेरा, रेकर्ड, ल्यापटप जस्ता सामग्रीको अभावले पत्रकार सही सूचना दिनबाट नचुकून”, अध्यक्ष कँडेलले भने, “हामीले सशक्त पत्रकार बनाउने अभियान थाल्नेछौँ ।”
बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएको छ । “निवर्तमान कार्यसमितिले हामी सबैको रहर पत्रकार महासङ्घको घर अभियान चलायो”, कँडेलले भने, “अब घर पछिको रहर सही सूचनाका लागि पत्रकारका हातमा उपकरण आवश्यक छ ।” रासस