भैरहवा -इदको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मवालम्बीहरुको पर्व इदको अवसरमा शुभकामना सन्देश दिएका छन ।
प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्व हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान रहेको भन्दै विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित रहेका उल्लेख गरे। विशेष परिस्थितीमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आव्हान गर्दै प्रधानमन्त्री ओलीले इस्लामिक समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गरेको सन्देशमा उललेख छ ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले पनि प्रदेशवासी सहित सम्पूर्ण देशवासीमा शुभकामना दिएका छन । मुख्यमन्त्री पोखरेलले ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको उल्लेख गरेका छन् ।
विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएको जारी सन्देशमा उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको उनले बताएका छन् ।
पर्व मनाउँदा पनि कोरोना विरुद्धको लडाईका लागि सरकारले जारी गरेका आदेश पालना गदै मनाउन पोखरेलले अपील गरेका छन्। शुभकामना सन्देशमा कोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका सबैलाई यस अवसरमा म उच्च सम्मान सहित समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा ईद पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछुु भनिएको छ ।