बुटवल-कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुइ हप्ता यता नेपाललाई लकडाउन गरिएको छ । अत्यावश्यक काम बाहेक धेरै मानिसहरु आफ्नै घर भित्रै दिन कटाइरहेका छन् । शहरबजार सुनसान छ । तर सुरक्षाकर्मीहरु भने लकडाउन कार्यान्वयन गराउन सडकमै उत्रनुपर्दछ ।
अन्य सुरक्षा निकाय भन्दा नेपाल प्रहरी जनतासँग नजिक रहने सुरक्षा संयन्त्र हो । उनीहरू जोखिमको अग्रपंक्तिमा पर्छन्।
त्यसैले कोरोना भाइरसको जोखिमसँग प्रहरी संगठन पनि जुध्नुपर्दछ । शान्ती सुरक्षा र नागरिकको रक्षाको लागि खट्दा जोखिमको सामना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए ।
‘कुनै अपराधिक घट्ना भयो र घट्ना स्थलमा जाँदा जोखिम त छ ।’ उनले भने ‘अपराधिलाई उम्कन दिन भएन । नियन्त्रणमा लिन पर्यो । मृत्यू नै भएको रहेछ भने मुचुल्का तयार पार्न लास उठाउन पर्छ ।’ हरसम्भव सुरक्षाका उपाय अपनाउने गरेको डिएसपी खत्रीले बताए । सिमानाका पनि सुरक्षाकर्मीको लागि जोखीम हुने ठाउँ हो । ‘मालबाहक गाडी आइरहेका छन् । त्यसमा पनि सुरक्षाकर्मीले चेकजाँच गर्नुपर्ने हुन्छ । तर सचेतना अपनाएका छौं ।’ खत्रीले भने ‘सिमामा घर फर्कनेको भिड बढ्यो भने सुरक्षाकर्मीले व्यवस्थीत गर्नुपर्ने हुन्छ । त्यहाँ सर्वसाधारण सँगै प्रहरी पनि जोखिममा हुन्छन् ।’
सुरक्षाकर्मीहरु समुहमा बस्ने गर्दछन् । कारणबस एक जना कोही संक्रमित भएमा सिंगो इकाइ अर्थात कार्यालय भित्रका अरुलाई पनि सर्ने जोखिम खतरा हुन्छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपीले भिमलाल भटराइले डिउटीमा खट्दा जोखिम भएपनि सतर्कता अपनाएको बताए । ‘हामीले दुरीको मेन्टन गरेका छौं । माक्स र पञ्जा लगाउने गरेका छौं ।’ उनले भने ‘सेनेटाइजरको प्रयोग बढी गरेका छौं ।’ चोक चोक र सडकमा प्रहरी खट्दा सचेतना दिने सम्झाउने गरेको डिएसपी भटराइले बताए ।
संक्रमणको जोखिमको कारण पछिल्लो पटक प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई सडकमै राखेर सम्झाउने गरेको छ । ‘कस्टडीमा त हामीले ल्याएका छैनौं । सडकमै एकछिन उभ्याउने सम्झाउने गरेका छौं ।’ भटराइले भने ‘प्रहरीको आफ्नो कर्तव्य पनि निभाउनै पर्यो । सचेतना पनि अपनाउनै पर्यो । कोरोनाको महामारीमा सबै भन्दा अग्रभाग अर्थात बढी जोखिममा स्वास्थ्यकर्मीहरु हुन्छन् ।
त्यसपछि भने प्रहरीहरु हुन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी नरबहादुर केशीले आम नागरिकसँगै प्रहरी संगठन भित्र पनि सचेतना अपनाउने अवस्था भएको बताए । ‘अन्य संकट जस्तो यो भएन । आम नागरिकलाई त लकडाउनको पालना गराउनुपर्ने छ । साथसाथै आफू पनि सचेत हुनुपर्ने अवस्था छ ।’ उनले भने ‘हामी पनि जोखिममै छौं । ज्यानको बाजी लगाएर खट्नुपर्छ । सकेसम्म सचेतना अपनाएका छौं ।’