बजारको मूल्य नपाएपछि किसानले दुध सडकमा पोखिरहेको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। गाडीबाट दुधको भाँडा खन्याउँदै गरेको देखिने भिडियोमा भएका एक हजारभन्दा बढी कमेन्टहरु मध्ये अधिकांशमा यो दृश्य नेपालको भएको आशय देखिन्छ।
तर हाम्रो तथ्यजाँचमा भने सो भिडियो नेपालको नभई भारतको गुजरात राज्यको रहेको पाइएको छ।
के हो दावी?
६४ हजार फलोअर रहेको कल्पना चौधरी नामक फेसबुक प्रोफाइलमा गत जुलाई ३१ (साउन १५ गते) भिडियो पोस्ट गरिएको हो। भिडियोमा बजार मूल्य नपाएकाले किसानले दुध नष्ट गरेको दावी गरिएको छ। भिडियोमा ‘फ्याँक्नु भन्दा गरिब दुःखीलाई दिएको भए पुण्य पाइने’ पनि लेखिएको छ।
स्क्रिनसट यहाँ हेर्न सकिन्छ
यो तथ्यजाँच तयार पार्दा सम्म १४ हजार जनाले रियाक्ट गरेको सो भिडियोमा १ हजार ४ सय कमेन्ट छन्। सो भिडियो ६२६ पटक सेयर समेत गरिएको छ। अर्थात् यो पोस्ट भाइरल भएको छ।
पोस्टमा भिडियो कहाँको हो भन्ने प्रष्ट लेखिएको नभए पनि अधिकांश कमेन्ट लेख्नेहरुले नेपालको ठान्दै कमेन्ट गरेकोले हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्यौँ।
के हो तथ्य?
भिडियोको स्क्रिनसट गुगलमा सर्च गरेर हेर्दा सामाजिक सञ्जाल एक्समा एउटा भिडियो फेला पऱ्यो। सो भिडियोमा देखिने ट्रकमा चढ्ने निलो टि-सर्ट लगाएको व्यक्ति र भाइरल भिडियोमा देखिने व्यक्ति एकै भएको देखिन्छ।
हेर्नुस् तुलनात्मक फोटोः

एक्समा राखिएको पोस्टमा भिडियो भारतको गुजरात राज्य स्थित बनसकण्ठाको हो।
गुजरातमा दुध पोखेर गरिएको आन्दोलन बारे गुगलमा खोजी गरेर हेर्दा एक समाचार फेला पऱ्यो। न्युज १८ को गुजराती संस्करणमा गत जुलाई १७ मा छापिएको समाचारमा किसानले दुध पोखेर आन्दोलन गरिरहेको बताइएको छ।
सो समाचार संगै प्रकाशित भिडियोमा भाइरल भिडियोमा देखिएको जस्तै दृष्य पनि देखिन्छ। भिडियोमा गुजरातीमा लेखिएको नेशनल मोबाइल लेखिएको बोर्ड दुइटै भिडियोमा देखिन्छ।
हेर्नुस् तुलनात्मक फोटोः

यसर्थ, दुध पोखेर किसानले आन्दोलन गरिरहेको भिडियो नेपालको होइन। भिडियो भारतको गुजरात राज्यको हो।
तथ्यजाँच
दावीः किसानले बजार मूल्य नपाउँदा दुध पोखेर आन्दोलन गरिरहेको।
दावीकर्ताः कल्पना चौधरी फेसबुक प्रोफाइल।
तथ्यः भ्रामक सूचना। दुध पोखेर किसानले आन्दोलन गरिरहेको भिडियो नेपालको होइन। भिडियो भारतको गुजरात राज्यको हो।
यो तथ्यजाँच सामग्री नेपाल फ्याक्टचेकको वेबसाइट nepalfactcheck.org बाट साभार गरिएको हो। यसको मूल सामग्री यहाँ क्लिक गरी हेर्न सकिन्छ।