बुटवल-‘स्वघोषित शत्रुहरुसँग डिफेन्स गर्न यत्तिको आत्मविश्वासी मुस्कानबाहेक अरु केही चाहिएला ?’ सामाजिक सञ्जाल फेसबुकमा रुकुम जिल्ला अदालत अगाडि खिचिएको फोटोसँगै लक्ष्मी नानी थापाले लेखेको स्टाटस हो यो । स्टाटसबारे लुम्बिनी टाइम्ससँगको कुराकानीमा उनले सामान्य प्रतिक्रिया दिइन्–‘कसैप्रति लक्षित होइन ।’
रुकुमको चौरजहारीमा भएको घटनामा नवराज विक सहित ६ जनाको ज्यान गएको थियो । घटनामा नवराज बिककी प्रेमिका भनिएकी किशोरी पनि हिरासतमा परिन् । तिनै किशोरीको पक्षमा बहस पैरवी गर्न नानी थापा आफ्नै इच्छाले आफ्नै खर्चमा रुकुम पुगेकी हुन् । उनी कसैले न्याय पाउँदै गर्दा कसैलाई अन्यायमा नपारियोस् भन्ने चाहन्छिन् ।
‘त्यहाँ एउटा बच्चीको कुरा छ । घटनामा कहीँ पनि संलग्नता छैन । तै पनि लगेर थुनामा राखिएको छ । मेरो यात्रा न्यायको पक्षमा हो–उनले भनिन्–बाहिर उनको नैतिकता र चरित्रमा आँच आउने गरी नारा लगाइएको छ । घटनाको दोषीलाई सजाय त हुनुपर्यो तर न्याय त दुवै पक्षलाई हुनुपर्यो नि ।’
उमेर नपुगेको बालबालिकाको हकमा अभिभावकको संरक्षण अथवा बालगृहमा राख्नुपर्ने नानी थापाको जिकिर छ । ती किशोरीलाई थुनामा राखेकोमा उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि दर्ता गराएकी छन् ।
बालिकालाई प्रतिवादी बनाएर हिरासतमा राखेकाले उनको पक्षमा बहस गर्न काठमाडौबाट रुकुम पुगेको उनले बताइन् । ‘लकडाउनको समयमा आफ्नै खर्चमा काठमाडौबाट रुकुम पुगेर निशुल्क बहस गरेकी हुँ–नानीले टेलिफोनमा लुम्बिनी टाइम्ससँग भनिन् ।
कुनै घटनामा कसैलाई अन्याय भयो, मनले अन्याय भएको ठान्यो भने मुलुकको कुनै पनि ठाउँमा बहस गर्न पुग्ने उनले बताइन् । महिला र बालबालिकाका यस्ता केशमा नानीले निशुल्क बहस गर्ने गर्छिन् ।
‘यो पक्ष अन्यायमा पर्यो भन्ने मलाई लाग्यो र मेरो बहसले न्यायको लागि सहयोग हुन्छ भन्ने मनमा आयो भने मैले आफ्नो व्यक्तिगत निर्णय गरेर बहस गर्न पुग्छु ।’–उनले थपिन्– ‘हालसम्म १५ –२० वटा मुद्दामा त्यसरी निशुल्क बहस गर्न पुगेकी छु ।’
नानीले कानूनी पेशा अंगालेको २ वर्ष जति भयो । अधिवक्ता बाहेक मनोविद पनि हुन् उनी । मनोविज्ञानमा स्नातकोत्तर गरिसकेपछि कानूनमा स्नातकोत्तर गरेर वकालत पेशा अपनाइन् उनले । अहिले पनि कलेजमा नानीले मनोविज्ञान विषय पढाउँछिन् ।
हाल भक्तपुरको ख्वप कलेज र काठमाडौको केएनके कलेजमा प्राध्यापन गर्दैछिन् । ‘मनोविज्ञान विषयले यसले मेरो कानूनी पेशालाई पनि सहयोग गरेको छ । कानूनमा पनि मनोविज्ञानको भूमिका हुन्छ । साइकोलोजिष्टको रिपोर्टका आधारमा पनि न्याय निरुपण हुन्छ’–उनले भनिन् ।
मनोविज्ञान र वकालती पेशालाई सँगसँगै लैजाने नानीको भनाई छ । पेशा बाहेक उनको रुची घुम्ने र आनन्द लिने पनि हो । रुकुम घटनाको बहस गर्न जाँदा काठमाडौबाट एक्लै गाडी हाँकेर मध्यपहाडी राजमार्गबाट पोखरा बाग्लुङ हुँदै नानी थापा रुकुम पुगिन् ।
पछि दाङ, बुटवल हुँदै महेन्द्र राजमार्गबाट विराटनगर गइन् । त्यहाँ पनि एउटा मुद्दामा बहस गरिन् । हालसम्म यसरी वकालतका लागि ५०–५५ जिल्ला पुगेको उनले सुनाइन् । यात्राका क्रममा उनले विभिन्न ठाउँका फोटोहरु सामाजिक सञ्जालमा राखेकी छन् ।
कलाकारितामा पनि सक्रिय
नानी थापाको कलाकारितामा पनि उत्तिकै योगदान छ । उनी नाट्यकर्मी पनि हुन् । उनले जुनकिरी, बेचिएकी चेली, पुतली लगायत आधादर्जन बढी नाटकको लेखन निर्देशन र अभिनय पनि गरेकी छन् । त्यसै गरी केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।
सिन्धुपाल्चोकबाट अध्ययनको सिलसिलामा काठमाडौं प्रवेश गरेकी नानी ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ कि विजेता हुन् । यतिमात्रै हैन उनी कोरियोग्राफर हुन्, फोटोग्राफर हुन् । कहिले ग्ल्यामर दुनियामा रमाइरहेकी हुन्छिन् भने कहिले बालबालिकाको सेवामा खटिइरहेकी हुन्छिन् नानी । ‘क्राउन नेपाल’ नामक संस्था खोलेर उनी बाल वालिकाको हक हित र संरक्षणमा पनि सक्रिय छिन् उनी ।