रुपन्देही । सम्मानजनक तरिकाले बाँच्ने वातावरण बनाउन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले माग गरेका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण समस्या परेको भन्दै उनीहरुले दृष्टिकोण बदल्न आग्रह गरे ।
एक्लोलाइ साहारा दिने बृक्ष समुह र ओपन सोसाइटी फाउन्डेशनले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ब्लु डाइमण्ड सोसाइटीका राष्ट्रिय दिशा निर्देश तथा परिचालन अधिकृत आनिक रानाले समाजका मर्यादित जीवन जिउन पाउनु सबैको अधिकार भएको बताइन् । “यो समुदायलाई गास, बास र कपासको सुनिश्चित गर्नु तीन तहका सरकारको दायित्व हो । प्रत्येक पालिकामा रोजगारीका अवसर सृजना गर्न सके तेस्रो लिङ्गीले पनि सम्मानजनक बाँच्न पाउने वातावरण बन्छ”, रानाले भनिन् ।
कार्यक्रममा एक्लोलाई साहारा दिने वृक्ष समूहका प्रदेश संयोजक रेशम न्यौपानेले स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न नसकेको गुनासो गरिन् ।
समूहका सदस्य विनोद बिसीले नेपालमा समलिङ्गि विवाहलाई कानूनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपर्ने भएकाले यो समुदायका नागरिकमा मानसिक समस्या समेत देखिने गरेको बताए । इच्छ्याएको र चाहेको व्यक्तिसंग जिवन यापन गर्न पाउने र धर्मपुत्र वा धर्मपुत्री पाल्न पाउनुपर्ने अधिकार संबिधानले नै सुनिश्चित गरेका कारण तेस्रो लिङ्गिलाई पनि अधिकार दिनुपर्ने उनको भनाई छ ।
अर्का सदस्य सायरा गुरुङले बिद्यालयमा शिक्षक र सहकर्मीहरुले गर्ने फरक व्यवहारले अध्ययन बिचैमा छोड्नु परेको गुनासो गरिन् । विद्यालय तहबाटै पुरुष र महिला जस्तै तेस्रो लिङ्गि पनि समाजमा छन् भन्ने जानकारी गराउन आवश्यक रहेकोमा जोड दिइन् ।
कार्यक्रममा मानव अधिकार आयोग लुम्बिनी प्रदेशका अधिकृत दिपक ठाकुरले लिङ्गका आधारमा कसैलाई भेदभाव गर्न नपाइने बताए । अधिबक्ता इन्दिरा आचार्यले समाजमा हुने अन्याय र विभेदका विरुद्ध कानूनी प्रकृयाका आधारमा अघि बढ्न सुझाव दिइन् ।
कार्यक्रममा अधिकारकर्मी रिता सेन, साबित्रा घिमिरे लगायतले तीनै तहका सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पक्षमा नीति कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन् ।