काठमाडौं– राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक भएको छ। यसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
प्रारम्भिक नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले नेपालमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको जनाएको छ। यो संख्या पुरुषभन्दा ६ लाख ९ हजार ८ सय ५८ जनाले बढी हो। पुरुषको जनसंख्या भने एक करोड ४२ लाख ९१ हजार ३११ छ।
१० वर्षको अवधिमा २६ लाख ९७ हजार ९०४ जनसंख्या बढेको छ। यो वृद्धिदर ०.९३ प्रतिशत हो। २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। पछिल्लो १० वर्षमा जनसंख्या बढे पनि जनसंख्या वृद्धिदर भने घटेको छ। अघिल्लो जनगणना अर्थात् २०६८ सालमा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो।
जिल्लागत रुपमा हेर्ने हो भने सबैभन्दा बढी जनसंख्या काठमाडौंमा २० लाख १७ हजार छ। सबैभन्दा कम भने मनाङ जिल्लामा ५ हजार ६४५ मानिस बसोबास गर्छन्। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं छन्। कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन्।
विदेशमा बस्ने नेपालीको संख्या भने २१ लाख ६९ हजार ४७८ छ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या भने ६७ लाख ६१ हजार ५९ छ। ती परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको जनगणनाले देखाएको छ। प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिएको छ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा छ। उक्त प्रदेशमा ६१ लाख २६ हजार २८८ जनसंख्या छ। सबैभन्दा कम जनसंख्या भने कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना छ।
सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज (सबै महानगरपालिका) छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ पालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ।
धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ। २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएको बाँकेको बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ जना छन्। १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ।
नेपालको जनघनत्व १९८ जना प्रति वर्गकिलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ।
जनगणनाको अन्तिम तथ्यांक भने आउन बाँकी छ। अन्तिम तथ्यांकले अन्य लिंगी, शिक्षको अवस्था, रोजगारी दरलगायत विभिन्न क्षेत्रको विस्तृत जानकारी दिनेछ। ६ महिनाभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गरिने विभागले जनाएको छ।