रुपन्देही । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई स्थानीय मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्री मिडिया नेटवर्कको आयोजनामा प्रशासन, सुुरक्षा निकाय, नागरिक समाज र पत्रकारहरुका बिचमा गरिएको अन्तरक्रियाका सहभागीले समाज परिवर्तनका लागि मिडियाले लुकेका विषय बाहिर ल्याउन जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारले उठाएका समाज रुपान्तरणका मुद्दामा प्रशासन, सुरक्षा निकाय र नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपा बिश्वकर्माले स्थानीय निर्वाचनको समयमा आस्थाका आधारमा मिडिया बिभाजित भएको बताउँदै आस्था भएपनि सहि सुचना दिन आग्रह गर्नुभयो । उहाँले जनताका दैनिक जीवनयापनका मुद्दाहरुलाई नउठाएको बताउँदै बजारमा बढिरहेको महंगी र कालोबजारीको क्षेत्रमा कलम चलाउन पत्रकार र सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार एवं पूर्व अध्यक्ष बिनोद पहाडीले समाजले चाहेका बिषयहरु अझै ओझेलमा परेको बताउँदै मिडिया र नागरिक समाजले भ्रष्टाचार, असारे बिकासको बारेमा बोल्नुपर्ने बताउनुभयो । मिडिया संख्यात्मक रुपमा धेरै रहेको बताउँदै उहाँले मिडिया उद्यमीको बारेमा कोहि नबोल्दा समस्या आएको गुनासो समेत गर्नुभयो ।
मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोबिन्द खनालले सञ्चार माध्यमले कलम चलाईरहे पनि गहिराईमा पुग्न नसकेको बताउनुभयो । निर्वाचनका समयमा उम्मेद्वारहरु बिच मित्रवत व्यवहार रहेपनि पत्रकारका बिचमा कटुता बढेकोे बताउँदै समाचार प्रकाशनमा ध्यान दिन सुझाव दिनुभयो ।
ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख पुष्कर रानाले पत्रकारहरुले अझैपनि खोजमूलक समाचारलाई कम प्राथमिकता दिएको बताउनुभयो । यतिबेला राष्ट्रिय परिचयपत्र बितरणमा निकै गुनासा समस्याहरु आएपनि पत्रकारले कुनै समाचार नलेखेको उल्लेख गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अनुसन्धानकै क्रममा रहेका विषयलाई अन्यत्रैै मोड्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । केही घटना भएमा छानबिन गर्ने काम प्रहरीको भएपनि विषय तोडमोड गर्दा द्धन्द्धको अवस्था सृजना हुने उहाँको भनाइ छ ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले बिदेशमा जस्तो नेपाली पत्रकारहरुले कुनै सुबिधाहरु नपाएकाले आर्थिक रुपमा पछाडि परेको बताउनुभयो । उहाँले समाचारलाई प्राथमिकताका आधारमा स्थान दिनुपर्ने धारणा राख्नुभयो ।
रूपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष, कृष्ण पराजुलीले नयाँ कुरा, भ्रष्टाचार, दुराचार,असारे विकास लगायतका कुराहरुमा मिडियाले ध्यान दिनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिका –४ का वडा सदस्य अरूणकुमार श्रेष्ठले जनताले भोगेका समस्यामा कलम चलाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार अधिकृत दीपक ठाकुरले आवश्यकता र समय अनुसार फरक फरक मुद्धाहरु हुने बताउँदै ति मुद्धालाई पुर्णता दिन आग्रह गरे ।
सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतमले सबै क्षेत्रले सहि सुचना सहि समयमा दिनुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा विट पत्रकारिता नहुदा समस्या रहेको बताउँदै पत्रकारको उचित पारिश्रमीकको विषयमा पनि महासंघ र सञ्चारसंस्थाहरु बोल्नुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ रूपन्देही अध्यक्ष रिमा विसिले अधिकांश पत्रकारहरु पार्टि नजिक रहेको बताउँदै खोजी समाचार लेख्नेहरु ओझेलमा परेको देखिएको टिप्पणी गर्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले पत्रकार र मिडियाले सेल्फसेन्सरसिप गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले फ्रि मिडिया नेटवर्कलाई अझ व्यवस्थित रुपमा अघि बढाउन निरन्तर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
सचिव विनोद परियारले नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्री मिडिया नेटवर्कले पत्रकारिताको सुधार र गुणस्तर वृद्धि गर्न यस्तो छलफललाई निरन्तरता दिने बताउनुभयो ।