लुम्बिनी । दुर्गा मूर्ति बिसर्जनका लागि गएका अजयकुमार नाउँ घर फर्किन पाउनु भएन । कोटहीमाइ गाउँपालिकास्थित दानव खोलाको दुईमोहान घाटमा सँगै जानुभएका उहाँका सहपाठी अजय राजभर र शन्तकुमार राजभर पनि २०८० असोज ७ गते नै सदाका लागि जलमै अस्ताउनुभयो ।
विसं २०७८ कात्तिकदेखि प्रहरी जवान पदमा कार्यरत २४ वर्षीय नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा सेवारत हुनुहुन्थ्यो । उहाँ दसैँ मान्न दुई दिन पहिलेदेखि बिदामा हुनुहुन्थ्यो । उहाँसँगै डुबेर मृत्यु भएका दाजुभाइ नाता पर्ने १८ वर्षीय अजय राजभर २० वर्षीय शन्तकुमार राजभरका काकाका छोरा थिए ।
यसअघि २०७९ जेठ ३१ गते नुहाउन गएका कोटहीमाई गाउँपालिका– ५ मझगावाका २२ वर्षीय विजय प्रकाश यादवको मृत्यु भएको थियो । विसं २०७८ असोज ३० गते शनिबारका दिन कोटहीमाई–४, कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै दानव खोलामा डुब्नुभयो । दसैँ पूजाका लागि बनाइएको दुर्गामूर्ति विसर्जनका क्रममा अपराह्न २ बजे खोलामा हराउनुभएका उहाँको शव राति ८ बजे मात्र फेला परेको थियो ।
विसं २०७७ असोजमा पनि त्यस्तै घटना भएको थियो । साथीको लहैलहैमा दुर्गामूर्ति विसर्जनका लागि गएका सम्मरीमाई गाउँपालिका।–६ महदेइयाँका १६ वर्षीय मुकेश कुर्मी हेर्दाहेर्दै हराएको झण्डै २० घण्टापछि स्थानीय गोताखोरले उहाँको शव फेला पारेका थिए । मुकेश आफ्ना आमाबाबुका एक्लो सन्तान थिए ।
विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जल भर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो । प्रहरीको रेकर्डलाइ हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भङ्गहियाका १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जल भर्ने क्रममा कोटहीमाई–५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो ।
रूपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई गाउँपालिका–१ र वडा नं ५ स्थित दानव र तिनाउ खोलाको सङ्गमस्थल दुईमोहानघाट मर्चवारवासीका लागि धार्मिक क्रियाकलाप गर्ने मुख्य थलो हो । जहाँ मूर्ति विसर्जन र जल भर्नेलगायतका धार्मिक कार्य गरिन्छ । त्यही घाटमा डुबेर बर्सेनी मानिसको मृत्यु भइरहँदा सतर्कता छैन ।
यसरी सोही ठाउँ दुई मोहानघाटमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ भने त्यहाँ डुब्दै गर्दा उद्धार भई ज्यान जोगिएकाको सङ्ख्या पनि उत्तिकै छ । विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा स्थानीय पौडीबाजले उद्धार गरी ज्यान जोगाएको अधिकारकर्मी अनिल माझीले बताउनुभयो ।
‘धार्मिक प्रयोजनका लागि जल भर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनिजसो एक वा दुई जनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ’, मर्चवार युवा जागरण क्लबका अध्यक्ष मोहम्मद आरिफले भन्नुभयो, ‘स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ ।’
मूर्ति विसर्जन, कार्तिक पूर्णिमाको नहानमेला र धार्मिक प्रयोजनका लागि जल भर्ने क्रममा सोही ठाँउमा बर्सेनि युवायुवती डुबेर धेरैलाई बचाउन सकिएको छैन । घटना क्रममा केही वर्षयता कम्तीमा पनि बर्सेनि एक या दुई जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मझगावाको भनाइ छ ।
त्यहाँ पानीको गहिराइ र बहाव पनि उच्च छ । कुनै पनि कारणले नदीको पानीमा डुब्ने जो कोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ । त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले त्यसो हुन नदिन आगामी दिनमा कडाइका साथ सञ्चार, सहकार्य र व्यवस्थापन गर्ने बताउनुभयो ।
‘एउटै स्थानमा डुबेर मृत्यु हुने घटना बर्सेनि बढ्दै गर्दा, स्थानीय प्रहरी, प्रशासन र सरकारलाई पनि विशेष चुनौती थपेको छ, सुरक्षा र उद्धार प्रयासमा भरपर्दो साथ पुगेको छैन’, सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो, ‘यति भन्दैमा हामी पनि हाम्रा कर्तव्यबाट विमुख हुन मिल्दैन, जोखिमपूर्ण ठाउँमा त्यस्ता कार्यक्रम गर्न प्रतिबन्ध लगाइ सुरक्षित ठाउँमा व्यवस्थापन गर्नुपर्दछ ।’
‘अभिभावकले आफ्ना बच्चालाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो, भन्दा फरक पर्दैन’, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले भन्नुभयो, ‘मैले मातहतका प्रहरी कार्यालयलाई सहकार्यसहित सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु ।’
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुर्घटना न्यूनीकरण गर्न नीतिगत हिसाबले जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘तिहारभन्दा पहिलै मर्चवारको तीनवटै पालिका प्रमुखसँग यसै विषयमा केन्द्रित भई बैठक बस्दैछौँ ।’ उहाँले त्यहाँबाट मूर्ति विसर्जनलगायतका धार्मिक कार्यक्रमका लागि निश्चित ठाउँ र सुरक्षाबारे आवश्यक निर्णय लिइने बताउनुभयो ।
मूर्ति विसर्जनका सन्दर्भमा सम्बन्धित पालिकाबाट लाइफ ज्याकेटको व्यवस्था गराउन पहल भइरहेको प्रजिअ अधिकारीले बताउनुभयो । लाइफ ज्याकेट नलगाउनेलाई मूर्ति विसर्जनमा प्रतिबन्ध लगाउने उहाँले बताउनुभयो । अन्य समयमा पनि उक्त ठाउँमा हुने दुर्घटनालाई न्यूनीकरणका लागि विपद् क्षेत्रमा काम गर्ने सङ्घसंस्था र सरोकारवालासँगसमेत छलफल गरी नीतिगत हिसाबले सुरक्षा प्रबन्ध मिलाउने उहाँले जानाकारी दिनुभयो ।
‘हामीसँग तालिम प्राप्त दक्ष जनजनशक्तिको अभाव छ, विशेष गरेर चाडपर्वका बेला प्रायः मानिस उत्तेजित रहन्छन्, त्यसैले सक्दो प्रयासका बाबजुद घटनाक्रम रोक्न नसकिनु निकै नै दुःखद् हो, कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्नुभयो, ‘खुसी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि मानिस डुबेर मृत्यु हुने गरेकाले अब भने त्यसो हुन नदिन विशेष सुरक्षा योजनासहित व्यवस्था मिलाइँदैछ ।’
दुई मोहानघाटका घटना होस् या अन्य कुनै, मर्चवारमा सबै उद्धारका काम स्थानीय गोताखोर र तैराकले नै गरेको त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यद्यपि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको अथक प्रयास पनि कम छैन, तर पनि मुकेश कुर्मी, अजयकुमार नाउँ, अजय राजभर वा शन्तकुमार राजभरको शव पनि स्थानीयले नै फेला पारेर निकालेका हुन् ।’ त्यसैले विपद् व्यवस्थापन र खोज तथा उद्धारका लागि स्थानीयलाई तालिमको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।