भैरहवा । रोटरी क्लब अफ भैरहवाले मानसिक स्वास्थ्य, लागुऔषध विरुद्धको सचेतना सम्बन्धी शिक्षण विधिमा प्रशिक्षण दिएको छ । क्लबले न्यु इरा इंग्लिश बोर्डिंग स्कुल, सिद्धार्थनगर–१२ अध्ययनरत कक्षा ९ का विद्यार्थीहरु तथा शिक्षकहरुलाई दुई दिने मानसिक स्वास्थ्य, लागु औषध सम्बन्धि सचेतना प्रशिक्षण दिएको हो ।
स्कुलका अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अबलोन नेपालका प्रशिक्षक रञ्जु शर्माले मानसिक स्वास्थ्य के हो र यस बाट बच्न अपनाउने बिषयमा प्रशिक्षण दिएका थिए । साथै प्रमुख प्रशिक्षक रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेशचन्द्र आचार्यले लागु औषधको दुरुपयोग र यसबाट जोगिने उपाय र न्यूनिकरणको बिषयमा प्रशिक्षण दिएका थिए । यस्तै अर्का प्रशिक्षक माला प्रधानले दैनिक जीवनलाई कसरि सहज बनाउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गरेकी थिइन् ।
प्राचार्य कुन्ती देवी सेनको स्वागत तथा शिक्षक हिमाल बडुवालको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्कुलका अध्यक्ष दिपक सापकोटाले क्लबले नयाँ सोचका साथ अगाडि बढाएको मानसिक स्वास्थ्य कार्यक्रमले स्कुल समुदयमा छुट्टै छाप छोड्ने विश्वास व्यक्त गर्दै यस्तो सचेतना कार्यक्रम हरेक स्कुलले अभिभावक लाई समेत दिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष आचार्यले विद्यार्थीहरु तथा शिक्षकहरुलाई आवश्यक परेको पहिलो चरणको परामर्श अवलोकन नेपालसँगको सहकार्यमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा कक्षा ९ का ७० जना विद्यार्थी र २३ जना स्कुलका शिक्षकहरुको उपस्थिति थियो ।