काठमाडौँ । सरकारले देशभरका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सुधार, निर्माण र सञ्चलनको काम सार्वजनिक, निजी साझेदारी (पिपिपि) अवधारणामा अगाडी बढाउने तयारी शुरु गरेको छ ।
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भैरहवा र पोखरा विमानस्थल सञ्चलनका लागि पिपिपि अवधारणमा अगाडी बढ्ने गरी काम शुरु गरेको बताउनुभयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आकाशमा ४०÷४५ मिनेट जहाज होल्ड गर्नुपर्ने अहिलेको अवस्था अन्त्यको लागि निजगढ विमान स्थल निर्माण एकमात्र विकल्प रहेको पनि बताउनुभयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधार र विज्ञको सुझाव अनुसार निजगढ विमानस्थल निर्माणको काम समेत सार्वजनिक, निजी साझेदारी अवधारणा अनुसार अगाडी बढाइने बताउनुभयो ।
मन्त्री किराँतीले नागरिक उड्डयन सम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पुर्याइएको जानकारी पनि समितिलाई दिनुभयो ।
उहाँले नेपाल हवाई उडानको कालोसूचीबाट हट्नका लागि इयुका प्रतिनिधिले दिएको १२ वटा विषयका सुझावहरू सुधारको चरणमा रहेको बताउनुभयो ।
समितिले आज देशभरका ऐतिहासिक गढी किल्लाहरू र दरबार संरक्षण, नागरिक उड्डयन तथा हवाई सेवा सम्बन्धी सरकारी आश्वासन, विकास समिति ऐन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित गठन आदेश लगायतका विषयमा पर्यटन मन्त्री र सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरेको हो ।