काठमाडौँ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनले उग्ररुप लिएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने त्यसक्रममा भएको भागदौडमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गोली लागेर गम्भीर घाइते भएका विरेन्द्र शाहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिनुभयो । यसैगरी प्रदर्शनका क्रममा भएको भागदौडमा गम्भीर घाइते भएर किस्ट अस्पतालमा उपचारका लागि लगिएका जुम्लाका २३ वर्षीय सुजन राउतको पनि मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढ्नुभएको बा २ झ ५८६१ नम्बरको जीपमा पनि आगजनी गरेका छन् ।
मन्त्री ज्वाला र उहाँको सुरक्षार्थ रहेका दुई जना पिएसओलाई जीपबाट बाहिर निकालेर प्रदर्शनकारीले जीपमा आगो लगाएका थिए । गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
यसैबिच कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ ।
समितिलाई सात दिनभित्र सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा छ ।
विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर त्यहाँ जम्मा भएका व्यक्तिहरूको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवं मानवीय क्षतिप्रति गृह मन्त्रालयले दुःख व्यक्त गरेको छ ।