बुटवल । राष्ट्रियसभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा अब ४ मत मात्र खस्न बाँकी छ । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बिहीवार सवा २ बजेसम्म प्रदेशसभातर्फ पूरै र पालिकाका २१४ मत खसेको जानकारी दिनुभयो ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रका २ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा ९एमाले०ले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच जना रहेको छ । यसमध्ये प्रदेशसभा सदस्यको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको छ ।
मतदान सकिएलगतै मतगणना शुरू गरिने निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।